नेपालको गौरव : फेला पर्‍यो दुर्लभ ‘सुनौलो कछुवा’

काठमाडौं । नेपालमा सुनौलो कछुवा फेला परेको छ । २ नम्बर प्रदेशको जनकपुर उपमहानगर पालिकास्थित खोयरमा सुनौलो कछुवा २ वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् ।

सन् २०१८ को अप्रिल १४ का दिन पहिलोपल्ट यो देखिएको थियो । यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो ।

यस प्रजातिको कछुवाको प्रायजसो रङ हरियोमा केही पहेंला धब्बा भएका हुन्छन् । नयाँ फेला परेको कछुवा पूरै सुनौलो रङको छ । त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको छ ।

सर्प प्रजातिको अध्ययन गर्ने क्रममा अध्येता कमल देवकोटा, देवनारायण मण्डल सहितका टोलीले कछुवा फेला पारेको हो । उहाँहरूले विश्वभर पाइने प्रजातिको अध्ययनपछि यो नयाँ कछुवा भएको ठम्याउँँदै अध्ययन पत्र तयार गर्नुभयो ।

नेपालमा सुनौलो रङ भएको कछुवा पहिलोपल्ट अभिलेख भएको पुष्टि गर्दै हर्पेटो नोट्समा यही ६ अगस्ट २०२० मा अध्ययन प्रतिवेदनका रूपमा छापिएको छ । नयाँ कछुवाका बारेमा देवकोटा र मण्डलसहित हेनरिच कैसरले संयुक्त रूपमा अध्ययन प्रतिवेदन तयार पार्नुभएको छ ।

‘सर्पको उद्धार गर्ने क्रममा जनकपुरमा थियौं, स्थानीयवासीले कछुवा भेटेको भन्दै उद्धार गर्न बोलाउँदा अनौठो रङको कछुवा देखेपछि थप अनुसन्धान सुरू गरेका थियौं,’ देवकोटाले भन्नुभयो । उहाँका अनुसार यस जातको कछुवा कुनै सेतो, कुनै हरियो वा कालो सुनौलो रङमा पाइने गर्छ । यी प्रजातिका कछुवालाई पुतली कछुवा, मतिहरूवा वा सेबई कछुवा भनेर स्थानीय नामले चिनिन्छ ।

सुनौलो रङबाहेक अन्य रङका कछुवा प्रायजसो मानिसले खाने र व्यापार गर्ने गरेकोे भेटिएको छ तर सुनौलो रङ भएकै कारण आफ्नो बासस्थानमा उच्च जोखिममा रहने देवकोटा बताउनुहुन्छ । अन्य गाढा रङका कछुवा जङ्गल, माटो र प्रकृतिसँग मिल्ने भएकाले अनुकूूलन गर्न सहज हुन्छ ।

सन् २०१८ को अप्रिल १४ का दिन बिहान जनकपुरमा यो कछुवा पहिलोपल्ट देखिएको थियो । अप्रिल महिनायता तराईमा सर्पको बिगबिगी हुनेगर्दछ । सोही समयमा स्थानीय मिथिला वाइल्ड लाइफ ट्रस्टका संरक्षणकर्मीले उद्धार गर्न देवकोटा सहितलाई बोलाएको थियो ।

पूरै सुनौलो रङको कछुवाको विश्वव्यापी अध्ययन गर्न र पुष्टि गर्न भने २ वर्ष समय लागेको देवकोटाले स्पष्ट पार्नुुभयो । आईयूसीएनका अनुसार यो कछुवा सामान्य जोखिमको वर्गमा छ तर अन्तर्राष्ट्रिय व्यापार कन्भेसन्सले भने यो अवैध व्यापारको खतरामा रहेको जीवको प्रजातिमा रहेर संरक्षण प्रदान गरेको छ । निकै सुन्दर देखिने कछुवा वातावरणमा सुरक्षित हुन कठिन हुने संरक्षणकर्मी सन्तोष भट्टराई बताउनुुहुन्छ । नेपालमा १७ प्रजातिका कछुवा पाइन्छन् ।

(गोरखापत्र दैनिकमा चाँदनी हमालले लेख्नुभएको छ ।)

Loading...