धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षको वैशाख १ गतेका दिन बिसु पर्व मनाइँदैछ ।
बिसु पर्वलाई सुदूरपश्चिममा विशेष चाडका रूपमा मनाइने गरिएको छ । गाउँबाहिर रहेकाहरू पनि बिसु पर्व मनाउन घर फर्किने गरेका छन् ।
नयाँ वर्षको पहिलो दिन देवर–भाउजुले एकआपसमा सिस्नुपानी छ्यापेर बिसु पर्व मनाइने गरिन्छ । बिसुका दिन आफैंले पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।
नयाँ वर्षका दिन मनाइने बिसु पर्वमा विशेषगरी साली र भिनाजु, देवर र भाउजू तथा नन्द र भाउजूबीच एकआपसमा सिस्नु हानाहान गरेर खेल्ने चलन छ । हाँसोठट्टा गर्न मिल्ने नाताको रूपमा हेरिने एकअर्कोलाई सिस्नुको मुठोले हातखुट्टा झमझमाउने गरी हान्ने गरिन्छ । अरु व्यक्तिले पनि अनिवार्य रूपमा पोलेको थाहा हुने गरी आफ्नै शरीरमा सिस्नु लगाउने चलन छ ।
बिसु पर्वमा घ्यू, तेलजस्ता चिल्लो पदार्थ प्रयोग गरेर विशेष परिकार (सेलरोटी, खीर, पुरी, माँडा, बटुक) बनाएर खाइन्छ । सिस्नुले डाम्दा खानेकुरा पच्ने तथा नसा र छाला सम्बन्धी रोग निको हुने विश्वास छ ।
सुदूरपश्चिमका दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडीका साथै कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले नयाँ वर्षका दिन बिसु पर्व मनाउँछन् । संस्कृतिविद् कैलाश पाण्डेका अनुसार विशाखा नक्षत्र भएकाले वैशाखको पहिलो दिनलाई बिसु भन्ने गरिन्छ । बिसुका दिन सुदूरपश्चिमका हरेक शिवालय र मन्दिरहरू पूजाआजा गर्ने, न्वागी (नयाँ अनाज) चढाइने गरिन्छ । गहुँ, जौ, मुसुरो, चनाजस्ता अन्नबाली भित्र्याएपछि मन्दिरमा चढाइसकेपछि नयाँ अन्नको न्वागी पकाएर खाइन्छ ।
वैशाख १ गतेलाई ‘अपुच्छे दिन’ मानेर नयाँ कामको शुभारम्भ गर्ने चलन पनि सुदूरपश्चिम प्रदेशमा छ । नयाँ लुगा लगाउने, विवाह, व्रतबन्ध गर्ने, साना नानीबाबुको कान छेड्ने, बालबालिकालाई अनाज खुवाउने, नयाँ घर निर्माण गर्ने, नयाँ व्यापार व्यवसाय सुरु गर्ने र जीवनका अरू महत्त्वपूर्ण अनुष्ठान पनि बिसु पर्वकै दिन गरिन्छ ।