काठमाडौं । ४ दशकअघि भारत र नेपाल २ देशका परराष्ट्र सचिवबीच बैठक भयो । बैठकले नेपाल— भारत संयुक्त प्राविधिक समिति (जेटीसी) गठन गर्ने निर्णय गर्यो ।
दुवै देशको मन्त्रिपरिषद्ले त्यसलाई अनुमोदन गर्यो । सन् १९८१ मा जेटीसीको गठन भयो । जेटीसीले २ दशक लगाएर १८२ स्थानको स्ट्रिप नक्सा तयार पार्यो ।
त्यसपछि सन् २००७ मा दुवै देशको प्राविधिक तहमा ९८ प्रतिशत समस्या समाधान भएको भन्दै स्ट्रिप नक्सामा हस्ताक्षर भयो । कालापानी र सुस्ता क्षेत्रको विषयमा राजनीतिक तहबाट टुंग्याउने भनेर जेटीसीले दुवै देशको सरकारलाई सिफारिस गर्यो । त्यो प्राविधिक कमिटीले सुस्ता र कालापानीको सीमांकन गर्न सकेन ।
सुस्ताका विषयमा नेपाल—भारतबीच पटकपटक समाधानको प्रयास भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा भने नेपाली राजनीतिक नेतृत्वले उपेक्षा नै गर्दै आएको नापीका प्राविधिकहरूले बताउँदै आएका छन् ।
पछिल्लो समयमा सुस्ता र कालापानी मात्रै होइन ९८ प्रतिशत समाधान भएको भनिएको स्ट्रिप नक्साकै कारण समस्या आएको छ । त्यसैले स्ट्रिप नक्सा नै खारेज गरेर नयाँ ढंगबाट सीमा निर्धारण गरिनुपर्ने आवाज उठ्न थालेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा स्ट्रिप नक्सामै नेपाली भूभाग भारतमा परेको भन्दै विरोध भएको छ ।
नापी विभागकै एक पूर्वप्राविधिक स्ट्रिप नक्सामा करिब २८/२९ ठाउँमा गल्ती रहेको बताउँछन् । स्ट्रिप नक्सा बनाउँदा नेपालका कतिपय गाउँ नै भारतमा परेका छन् भने कतिपय भारतीय गाउँसमेत नेपालमा परेका छन् ।
सुनसरीको श्रीपुर, पर्सा, कञ्चनपुरको प्याराताल, टनकपुर लगायतका धेरै स्थानमा स्ट्रिप नक्साका कारण समस्या आएको छ । ‘स्ट्रिप नक्सामा सुदूरपश्चिममा धेरै गल्ती छ, त्यसमा पनि कञ्चनपुरमा धेरै । कैलाली, बाँके र बर्दियामा पनि समस्या छ,’ नापी विभागका ती पूर्व प्राविधिक भन्छन्, ‘लालपुर्जा हाम्रो छ, त्यो भूभाग भारतमा परेको छ ।’ भारतले कतिपय स्थानको स्ट्रिप म्याम पनि आफू अनुकूल बनाएको उनको भनाइ छ ।
नेपाल—भारत सीमाको १ हजार ८ सय ८० किलोमिटर (लिम्पियाधुराबाहेक) दूरीमा ७१ स्थानमा सीमा समस्या छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको ६ सय ६ वर्गकिलोमिटर भूभाग भारतले अतिक्रमण गरेको बताउँदै आएका छन् । उनले कतिपय स्थानमा क्रस होल्डिङ अक्युपेसन रहेको बताए । कतिपय स्थानमा शुद्ध रेखांकन नभएको उनी बताउँछन् ।
‘१८२ स्थानको स्ट्रिप म्याप बनेको छ, त्यसमा कतिपय स्थानमा शुद्ध रेखांकन भएको छैन’, श्रेष्ठ भन्छन् । उनका अनुसार भारतका बलिया किसानले नेपालका निर्धा किसानको जग्गा मिचेका छन् । ‘भारतीय एसएसबी बन्दुक लिएर दसगजा नजिकै बसेका छन्, उनीहरूले बन्दुक तेर्साए हाम्रा निर्धा किसानको जमिन मिचेका छन्,’ उनले भने, ‘हाम्रो सशस्त्र प्रहरी भने २/३ किलोमिटर टाढा छ । उसले नेपाली किसानलाई सुरक्षा दिनै सकेको छैन ।’
श्रेष्ठका अनुसार बर्दियाको गुलरिया नगरपालिकाको चौगुर्जी क्षेत्रमा साहदल धोबीको जमिन भारतीय किसानले मिचेका छन् । त्यहाँ सीमा खम्बा पनि छैन र रेखांकन पनि छैन । कञ्चनपुरको प्याराताल परासनको बीचफाँट माविको १० बिघा जमिन मिचिएको छ । भारतीय पक्षले १ सय ९५ नम्बर सीमा स्तम्भ नै ढालिदिएका छन् । सीमा खम्बा नै ढालेर उनीहरूले सीमा यताउता गरेका छन् । कञ्चनपुरमा सीमा रक्षक गोविन्द गौतमको त भारतीयले हत्या नै गरेका थिए ।
‘यी दुई ठाउँको उदाहरण मात्रै भनेको हुँ । अरू पनि कतिपय स्थानमा यथार्थ रेखांकन भएको पाइँदैन,’ श्रेष्ठ भन्छन् । सीमाविद् पुण्यप्रसाद ओली पनि स्ट्रिप म्याम केही समस्या रहेको स्वीकार गर्छन् । ‘रिभ्यु गर्नु आवश्यक छ । केही स्थानमा समस्या छ । शतप्रतिशत ठीक भन्न मिल्दैन। ६/८ ठाउँमा समस्या थियो,’ उनले भने, ‘पुल पारिबाट जानुपर्ने ठाउँमा पुलको बीचबाट गएका छन् । त्यो कार्टोग्राफिक इरर हो ।’
नापी विभागका पूर्वमहानिर्देशक समेत रहेका ओलीले स्ट्रिप नक्साका कारण सीमा स्तम्भ भत्काउँदा, नदी धार परिवर्तन गरे पनि सीमा पहिचान गर्न सकिने बताएको बताए । ‘प्रत्येक सीमा स्तम्भको कोअर्डिनेट भएको छ । नासियो, हरायो भने पनि आइडेन्टिफाई गर्न सकिन्छ,’ उनले भने, ‘त्यो नै स्ट्रिप म्यापको फाइदा हो ।’
कालापानी र सुस्ताको समस्या समाधान हुन सके अन्य समस्या पनि समाधान हुने उनको विश्वास छ । ‘न प्रोटोकल छ, न सीमा सन्धि नै छ । मात्रै नक्सा बन्यो,’ उनले भने, ‘त्यसले सीमामा विवाद आइरहेको हो ।’
स्ट्रिप नक्सा सीमा नक्सा हो । दुवै देशको सीमा रेखाबाट आधा किलोमिटर चौडा नेपालतर्फ र अर्को आधा किलोमिटर भारतर्फको भूभाग देखाएर तयार परेको नक्सालाई स्ट्रिप नक्सा भनिन्छ । त्यसलाई धर्से नक्सा पनि भनिन्छ । त्यो नक्साका कारण सीमा स्तम्भ हराए, नासिए पनि सिमाना पहिचान गर्न सहज भएको छ । दुवै देशका प्राविधिक मिलेर बनाएका स्ट्रिप नक्सामा धेरै समस्या देखिएका छन् ।
(अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेख्नुभएको छ ।)