कर्मचारीको लापरवाही बाहिरिएपछि पत्रकारमाथि लाञ्छना ! विज्ञप्तिप्रति आपत्ति

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार केशव भट्टमाथि लाञ्छना लगाएपछि पत्रकारहरूले आपत्ति जनाएका छन् ।

कञ्चनपुरमा २ पत्रकारलाई प्रहरीले पक्राउ गरेको घटनालगत्तै सार्वजनिक रूपमा विज्ञप्तिमार्फत ‘कथित पत्रकार’ भन्दै कर्मचारीहरूले पत्रकारिता क्षेत्रमाथि नै आक्रमण गर्न खोजेको टिप्पणी भएको छ ।

‘समाचारका विषयमा आपत्ति भए मिडिया हाउस तथा प्रेस काउन्सिलमा गुनासो गर्न पाउँछ । विज्ञप्तिमार्फत सार्वजनिक रूपमा पत्रकारमाथि लाञ्छना लगाउनु आपत्तिजनक छ,’ नेपाल पत्रकार महासंघ बैतडीका पूर्व अध्यक्ष समेत रहेका सीमारेखा डटकमका सम्पादक राजेन्द्र नाथले भने, ‘यसले पत्रकारको मनोबल गिराएको छ । स्वतन्त्र पत्रकारितामाथि हमला गरेर कमजोर पार्न खोजिएको देखिन्छ ।’

‘कथित पत्रकार’ भन्दै निकालिएको कर्मचारीको विज्ञप्ति सामाजिक सञ्जालमा साझा गर्दै विकल्प दैनिकका पत्रकार रनि विवशले पत्रकारमाथिको अर्को आक्रमण भनेर लेखेका छन् ।

साझा आवाज अनलाइनमा प्रसारित भिडिओप्रति आपत्ति जनाउँदै सोमबार दोधाराचाँदनीका कर्मचारीले निकालेको विज्ञप्तिमा पटक–पटक ‘कथित पत्रकार’ उल्लेख छ ।

दोधाराचाँदनी नगरपालिका–६ का वडा सचिव मोहनसिंह सुनार कार्यालयमा ढिलो आएको भिडिओ सामग्री साझा आवाजले पुस २० गते प्रसारण गरेको थियो । त्यसदिन दोधाराचाँदनीको ११औं नगरसभा थियो । वडा कार्यालयको अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द भएको कर्मचारीको विज्ञप्तिमा झूटा दाबी गरिएको छ ।

वडा कार्यालयले सेवा बन्दको कुनै सूचना नै जारी गरेको थिएन । वडा कार्यालयमा सेवाग्राही वडा सचिव कुरेर बसेका थिए तर वडा सचिव सुनार कार्यालय समयमा घरायसी कामका लागि सरकारी सवारीसाधनको दुरुपयोग गरेको पाइएको थियो ।

सचिव सुनार ४० मिनेट ढिलो गरी कार्यालय आएको समाचार प्रसारणसँगै विवादमा आएपछि दोधाराचाँदनी नगरपालिकाले ढिला आएका ती सचिवलाई नगरपालिका तानेको थियो । दोधारा चाँदनी नगरपालिका–६ का अध्यक्ष ओम बस्नेत र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सचिव सुनारलाई नगरपालिका तानेको बताएका थिए ।

‘सचिव मोहन सुनार लामो समयदेखि यहीँ क्षेत्रमा काम गर्दै आउनुभएको राम्रै कर्मचारी हुन् तर पछिल्लो समयमा वडाध्यक्षज्यूले ढिलासुस्तीबारे मौखिम रूपमा उहाँको बारेमा गुनासो गर्नुभएको थियो,’ प्रमुख प्रशासकीय अधिकृत मिश्रले भनेका छन्, ‘रिपोर्टिङका क्रममा पनि ढिलो आएको पाइयो । त्यसपछि उहाँ बिदामा बसेपछि अर्को कर्मचारीलाई वडामा पढायौं । विवादकै कारण बिदापछि उहाँलाई नगरपालिका नै राख्यौं ।’

अर्का सचिवलाई वडा कार्यालयमा खटाएको विषयमा साझा आवाजले माघ २७ गते अर्को भिडिओ समाचार प्रसारण गरेको थियो । यही विषयमा दोधाराचाँदनीका केही कर्मचारीले ढिलो गरी कार्यालय आएका कर्मचारीको बचाउ गरेर समाचारमा आपत्ति जनाउँदै ‘कथित पत्रकार’ भन्दै विज्ञप्ति जारी गरेका थिए ।

‘भिडिओ कसरी कपोकल्पित हुनसक्छ ? भिडिओमा कर्मचारी ढिलो आएको प्रष्टै देखिएको छ,’ प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष समेत रहेका पश्चिम नेपाल दैनिकका सम्पादक लक्ष्मण पन्तले भने, ‘पत्रकारमाथि अनावश्यक लाञ्छना लगाएर पत्रकारितालाई कमजोर बनाउन खोज्नु दुःखद हो ।’

पत्रकारमाथि अनावश्यक लालछना लगाउँदै विज्ञप्तिमा अपाच्य शब्द प्रयोग भएको प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेजबहादुर सिंहले बताए । ‘विज्ञप्तिमा पत्रकारको मनोबल गिराउने तबरले अपाच्य शब्द प्रयोग भएका छन्,’ उनले भने, ‘यसले पत्रकारिता क्षेत्रमै आक्रमण भएको महसूस भएको छ ।’

३० जना राष्ट्र सेवक कर्मचारीले हस्ताक्षर गरेर सार्वजनिक गरेको वक्तव्यको भत्र्सना गर्दै पत्रकार शेरबहादुर सिंहले कथित पत्रकार भनेर व्यक्तिलाई हवाला दिएर पत्रकारिता पेशामाथि धावा बोलेको बताए । ‘केशव भट्ट भन्ने व्यक्ति नै हुन्, त्यसपछि पत्रकार । छड्के उनको कार्यक्रम । प्रस्तोता उनी । शैली आ–आफ्नै । तर ३० जना राष्ट्र सेवक कर्मचारीले हस्ताक्षर गरेर सार्वजनिक गरेको वक्तव्यको घोर भत्र्सना गर्दछु । कथित पत्रकार भनेर व्यक्तिलाई हवाला दिएर पत्रकारिता पेशा माथि धावा बोल्न खोजिएको हो भने कर्मचारीहरुको आधिकारिक टे«ड युनियनको धारणा सार्वजनिक होस्,’ उनले भनेका छन्, ‘मिडिया हाउस र उसले प्रकाशन र प्रसारण गरेको विषयप्रति असहमति हो भने पत्रकार महासंघ, प्रेस काउन्सिल देखि सम्मानित अदालतको ढोकासम्म पुग्नसक्ने कानूनी राज्यमा छौ हामी । समग्र पत्रकारिता पेशालाई शब्दबाट गरिएको दुव्र्यवहारको विषयमा पत्रकार महासंघ गम्भीर बनोस् ।’

यस्तो थियो समाचार सामग्री –

छड्के प्रभाव: कार्यालय समयमा मस्ती गर्ने दुई कर्मचारीलाई कारबाही

Loading...