महेन्द्रनगर । कञ्चनपुरमा दर्ता विना सञ्चालनमा रहेको मेडिकलमा प्रतिबन्धित औषधि बेच्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका–२ बंकमा अवैध रूपमा मेडिकल सञ्चालन गरिरहेका कृष्णपुर नगरपालिका–१ का देवसिंह धामीलाई प्रहरी पक्राउ गरेको हो ।
औषधि व्यवस्था विभागबाट ईजाजत पत्र नलिई सञ्चालनमा रहेको कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।
क्लिनिकमा जोखिमयुक्त औषधिहरू ६ बोरासहित धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । क्लिनिकमा जोखिमयुक्त औषधि बरामद भएपछि धामीलाई भीमदत्त नगरपालिका–१२ पक्की पुलबाट पक्राउ गरिएको छ ।
शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाअन्तर्गत वाणी, बंक, झलारी र कलुवापुरमा रहेका केही मेडिकलहरू अनाधिकृत रूपमा सञ्चालन भएको गुनासोपछि ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले अनुगमन गरेको थियो ।