काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले गरेको उम्मेदवारी दर्ता खारेज भएको छ ।
पाकिस्तानमा ८ फेब्रुअरीमा आम निर्वाचन हुँदैछ । त्यसका लागि खानसम्बद्ध पार्टी पाकिस्तान–ए–इन्साफ (पीटीआई) का उम्मेदवारले दर्ता गरेको उम्मेदवारीमध्ये केही खारेज भएको छ । जसअनुसार खानको उम्मेदवारी पनि खारेज भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पीटीआई संस्थापक खानले लाहौर र मियांवाली क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए । तर तोशाखाना मामिलामा दोषी ठहर भएका कारण उनीमाथि दाबीविरोध गरेपछि चुनाव आयोगले उम्मेदवारी खारेज गरेको छ ।
खानको उम्मेदवारीका प्रस्तावक र समर्थक सम्बन्धित निर्वाचन क्षेत्रबाट नभएका कारण पनि उनको उम्मेदवारी खारेज भएको जनाइएको छ ।