धनगढी । आज पुस १५ गते । सुदूरपश्चिममा ठूलीरात अर्थात् पुसे पन्ध्र धुमधामसँग मनाइँदैछ ।
आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मीठा–मीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ ।
‘रातभरि कथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल, सखरगखण्ड पकाएर खाने गरिन्छ,’ पण्डित रामचन्द्र भट्टले भने, ‘पन्नरकी रातका रूपमा समेत मनाइने पर्वमा आज १५ किसिमका परिकारहरू खाने गरिन्छ ।’
तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै कुन्क्यौलो (वनभोज) खाने गरिन्छ । पुस १५ गतेको आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फुर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको छ ।
एक दिन भए पनि आज घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘कुन्क्यौलो’ (वनभोज) जाने र मीठा–मीठा खानेकुरा खाने चलन रहिआएको छ । नेपालमा पुस १५ गतेलाई छोटो दिन मान्ने गरिएको छ ।
आजदेखि दिनहरू बिस्तारै लम्बिँदै गएर असार १५ गते वर्षकै ठूलो दिन मानिन्छ । भारतमा पुस १५ गतेलाई लोहरी पर्वका रूपमा मनाउने गरिएको छ ।