धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले जिल्ला प्रहरी कार्यालय कैलालीको भवन भत्काइदिन आग्रह गरेका छन् ।
धनगढी उपमहानगरपालिका–१४ ‘डी’ गाउँस्थित आसरा सुधार केन्द्र फूलबारीको उद्घाटन कार्यक्रममा बोल्दै मेयर हमालले धनगढीको सडक विस्तारमा प्रहरी कार्यालयको भवनले अवरोध गरेको गुनासो गरे ।
सुधार केन्द्रको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर प्रमुख अतिथि थिए । कार्यक्रममा मेयर हमालले भने, ‘विकास विरोधी प्रहरी भन्नु नपरोस्, सडकमा परेको भवन भत्काइदिनुहोला ।’
धनगढीको मुख्य बजारको सडक विस्तारका क्रममा ४२८ जनताले आफ्नो घर भत्काएको उनले बताए । उनले भने, ‘धनगढीको जनताले ४२८ घर भत्कायो । अब बाटो द्रूतगतिमा बनिरहेको छ । जिल्ला प्रशासन कार्यालयले बाउन्ड्रीभित्र हालिसक्नुभयो, जिल्ला प्रहरी कार्यालयमा हामीलाई व्यवधान आएको छ । एउटा नजिर स्थापित नहोस्, हामीले सधैं नेपाल प्रहरीको गुन गाउन पाइयोस्, विकास विरोध प्रहरी हामीले भन्नु नपरोस्, सहजीकरणका लागि आदेश होस् । त्यो बिल्डिङ हामीले बनाइदिन्छौं भनेका छौं ।’