काठमाडौं । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्षोल्लासका साथ आज मनाइँदैछ ।
हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशीयालीमा मनाउने गरिएको बताइन्छ ।
किराँत राईहरूको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । उधौलीमा किराँतीहरूले एकआपसमा भेला भएर संगठित रूपमा चाड मनाउने र शुभकामना आदानप्रदान गर्ने गरेका छन् ।
किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई उधौली र उभौली गरी २ भागमा बाँडिएको छ । खेतीकिसानीका आधारमा यी २ समय बाँडिएको किराँत समुदायका अगुवा बताउँछन् ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर पूर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेंसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ । उधौली पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।
किराँत समुदायका राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गरेका छन् ।