काठमाडौं । शिक्षक सेवा आयोगले भोलि आईतबार माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका लागि विज्ञापन आह्वान गर्ने भएको छ ।
खुला प्रतिस्पर्धाअन्तर्गत खुल्न लागेको विज्ञापन गोरखापत्र दैनिक र आयोगको वेबसाइटमा हेर्न सकिनेछ ।
आयोगका अनुसार नेपाली, अंग्रेजी, विज्ञान, अर्थशास्त्र, गणित, सामाजिक शिक्षा, संस्कृत र कम्प्युटर विज्ञान विषयका लागि आवेदन आह्वान गरिनेछ ।
आयोगले ४३५ पदका लागि विज्ञापन आह्वान गर्न लागेको जनाइएको छ । सबैभन्दा बढी विज्ञानमा आवेदन माग गरिँदैछ ।
वेबसाइटमा विज्ञापन डाउनलोड गरिएलगत्तै आवेदन भर्न पाइने सुविधा उपलब्ध गराइनेछ । माघ ८ गतेसम्म आवेदनको म्याद दिइने र दोब्बर दस्तुरका लागि माघ १५ गतेसम्म अवधि रहने जनाइएको छ ।
आयोग पदाधिकारीका अनुसार नेपाली, सामाजिक, संस्कृत र अर्थशास्त्र विषयमा आवेदन दिन १० महिने तालिम वा १ वर्षे बीएड अनिवार्य गरिएको जनाइएको छ ।