भोजपुर । स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित विजय राईले नेतृत्व गरेको रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ ।
गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो ।
वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । ‘लकडाउनले मजदुरी टुटेपछि परिवारको छाक टार्न धौधौ भएका बेला राहतमा पनि कुहिएको चामल पाइयो । योभन्दा ठूलो बिडम्बना अरू के हुन्छ ?’ उनले भने । गाउँपालिकाले ६ वडाका २ हजार १८४ परिवारलाई राहत दिएको थियो ।
वडा नम्बर ४ दलगाउँमा बाँडिएको चामलमा पनि ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बिया भेटिएको स्थानीयको गुनासो छ । राहतका नाममा सडिएको चामल पाएपछि विपन्न तथा मजदुरका परिवारलाई निल्नु न ओकल्नु भएको टंकराज भट्टराईले सुनाए । राहतका नाममा कुहिएको चामल पाउँदा अन्य विकल्प खोज्न बाध्य बनाएको ओखे्रेकी प्यारी राईले सुनाइन् । भनिन्, ‘चामलको बोरा खोल्दा कम गुणस्तरको पाइयो ।’
वडा नम्बर १ ओख्रेका वडाध्यक्ष सहदेव राईले पनि राहतका चामल गुणस्तरहीन भएको स्वीकार गरे । राहतको चामल जनताको घरमा पुगेपछि मात्र खानै नमिल्ने पाइएको उनले बताए । उनले भने, ‘जनताको गुनासो आएपछि अनुगमन गर्दा चामलमा बिया, ढुंगा, कनिका मिसिएको पाइयो । कतिपय बोराभित्र कुहिएको चामल र किरा लागेको पाइयो । यसले राहतका नाममा निराशा थपिदिएको छ ।’
यससँगै गाउँपालिकाले वडा नम्बर ७ र ८ मा राहत वितरण रोकेको छ । वडा ८ खोक्सिकका वडाध्यक्ष मनोज राईका अनुसार चामल गाउँपालिका केन्द्र बैकुण्ठेमै छ । ‘गुणस्तर नभएको थाहा पाउना साथ राहतको चामल वडामा ल्याएका छैनांै,’ उनले भने, ‘त्यो चामल ठेकेदार कम्पनीले फिर्ता लगेर गुणस्तरीय र स्वस्थ चामल ल्याउनुपर्छ । अनि, मात्र हामी राहत वितरण गर्छांै ।’
ठेकेदार कम्पनी थापा सप्लायर्स हतुवागढीले चामल जाँचै नगरी ढुवानीमा लापरवाही गरेको भन्दै जनप्रतिनिधिले कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ८ वटै वडाका अध्यक्ष ठेकेदार कम्पनीलाई कारबाही गर्न एकमत भएका हुन् ।
प्रतिकूल मौसमका कारण राहत वितरणको अनुगमन प्रभावकारी नभएको गाउँपालिका अध्यक्ष विजय राईको भनाइ छ । करार सम्झौताविपरीत गुणस्तरहीन चामल उपलब्ध गराउने ठेकेदार कम्पनीलाई कानून अनुसार कारबाही गरिने उनले बताए । उनले भने, ‘यो जनताको स्वास्थ्यप्रति ठेकेदार कम्पनीको चरम लापरवाही हो, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने ठेकेदार कम्पनी कारबाहीको भागिदार बन्नै पर्छ ।’
ठेकेदारलाई कारबाही अघि बढाउन गाउँपालिका अध्यक्ष राईको संयोजकत्वमा पाँच सदस्य अनुगमन समिति बनाइएको छ । गाउँपालिका उपाध्यक्ष सम्झना राईले बाँड्न बाँकी रहेको वडा ८ को १० बोरा गुणस्तरहीन पाइएकाले कारबाहीका लागि थप सहज भएको प्रस्ट्याइन् ।
सप्लायर्सले पनि चामल अखाद्य भएको स्वीकार गरेको छ । सप्लायर्सका सञ्चालक रविन थापाले सुनसरीको कालाबञ्जारस्थित सौभाग्य राइस मिलका कर्मचारीले नै हकुवा चामल हालिदिएको दाबी गरे । उनले भने, ‘मिलले नै हकुवा चामल दिएको छ । त्यो फिर्ता हुन्छ । मिलले अर्को गुणस्तरयुक्त चामल दिने सहमति जनाएको छ ।’ सप्लायर्सले ४५ लाख ९० हजार १०० रुपैयाँमा चामलको ठेक्का पाएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जंगम राईले सप्लायर्सले २५ किलोका ३ हजार २२४ बोरा चामलको ठेक्का पाएको बताए । सप्लायर्ससँग प्रतिकिलो ५६ रुपैयाँ ९५ पैसा पर्ने सोना मन्सुली चामल उपलब्ध गराउने सम्झौता थियो । राहत वितरणकै लागि ६ लाख ३४ हजार ९७४ रुपैयाँको खाने तेल र आयोडिनयुक्त नुनसमेत खरिद गरिएको छ । प्रेम भेराइटी हतुवागढीले ६ लाख २५ हजार ४५६ रुपैयाँको खाने तेल र ९५ हजार १०८ रुपैयाँको आयोडिनयुक्त नुन उपलब्ध गराएको हो ।
(अन्नपूर्ण पोस्ट दैनिकमा प्रदीपचन्द्र राईले लेख्नुभएको छ ।)