भूकम्प प्रभावित ५ विद्यार्थीलाई इन्जिनीयरिङमा पूर्ण छात्रवृत्ति दिने घोषणा

काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनीयरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ ।

कलेजले २०८० कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीलाई ५ वटा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो ।

कलेजले स्नातक तहअन्तर्गत आर्किटेक्चर, कम्प्युटर इन्जिनीयरिङ, सिभिल इन्जिनीयरिङ, सिभिल एण्ड रुरल इन्जिनीयरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनीयङि, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनीयरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल इन्जिनीयरिङ कार्यक्रममध्ये ५ वटा सिटमा छात्रवृत्तिको घोषणा गरेको छ ।

‘भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका नागरिक आक्रान्त बनिरहेको अवस्थामा उनीहरूका छोराछोरीका लागि अध्ययन अध्यापनमा सहयोग पुगोस् भनेर हामीले स्नातक तहमा ५ वटा सिट छुट्याएका हौं,’ शैक्षिक सत्र २०२३ का लागि छात्रवृत्ति घोषणा गरिएको बताउँदै कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले भने ।

कलेजे छात्रवृत्ति प्रवेश परीक्षाको मेरिट सूचीअनुसार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । विद्यार्थीलाई छात्रवृत्ति प्राप्त गर्न ११ र १२ कक्षाको मार्कसिट, कलेजले लिने प्रवेश परीक्षाको प्राप्तांक, नागरिकता प्रमाणपत्र, भूकम्प प्रभावित क्षेत्रमा स्थायी बसोबास भएको तथा सम्बन्धित स्थानीय तहले भूकम्प पीडित भनी सिफारिस गरेको पत्र आवश्यक पर्नेछ ।

कलेजले सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकतामा राख्ने जनाएको छ भने उल्लेखित विषयमा छात्रवृत्ति दिँदा भर्नाको लागि सिट बाँकी रहेको हुनुपर्ने कलेजका अध्यक्ष जीवन खत्रीले बताए ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजमा इन्जिनीयरिङको स्नातक तहमा ७ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । नेपाल इन्जिनीयरिङ कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्ये उत्कृष्ट कलेजअन्तर्गत रहेको जनाइएको छ ।

Loading...