धनगढी । नेकपा एमालेका नेता डा. भीम रावलले स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्द केसीको सर्वत्र विरोध हुनपर्ने बताएका छन् ।
विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेका बेला डा. केसीले विश्वविद्यालयको भावना विपरीत अनसन थालेपछि सुदूरपश्चिममा विरोध भइरहेको छ ।
नेता रावलले डा. केसीको काम देश र जनताको हितमा नरहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर निजले कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौं ।’
डा. केसीले यसअघि गरेको अनसनबाट नर्सिङ कलेजहरू बन्द भएका र नर्सिङ पढ्न विदेश जानुपर्ने अवस्था आएको छ ।