काठमाडौं । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा प्यूठानका २ जनाको मृत्यु भएको छ ।
गएराति दाङको घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा दुर्घटना हुँदा प्युठानको झिमरुक गाउँपालिका–४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय घोराहीले तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१क १३०७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरेको रा२प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो । टिप्पर चालक रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २६ वर्षीय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।