काठमाडौं । राजधानी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ ।
फ्लाई दुबईको जहाजमा आएका यात्रुले ल्याएको साढे ६ किलो सुन गएराति बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
शनिबार मध्यराति १२ः४५ बजे चेकजाँच गर्दा ज्याकेटमा खल्ती बनाएर ६ थान बिस्कुट जस्तो अर्धठोस अवस्थाको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुन ६ किलो ५६५ ग्राम रहेको छ ।
सुन बोक्ने इजिप्टका नागरिक ३२ वर्षीय सेरिफ मोहम्मद मोहम्मद ल्यासिन रहेका डीआईजी चन्दले बताए । उनीसँगै रहेका सुडानी नागरिकलाई पनि पक्राउ गरिएको छ ।
बरामद सुन र व्यक्तिलाई विमानस्थल भन्सार कार्यालय काठमाडौंमा बुझाइएको छ । यसअघि गत शुक्रबार विमानस्थलबाट १४ किलो सुन बरामद भइसकेको छ ।