जाजरकोट । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको १ हजार बढीको नेकपा एमालेको स्वयंसेवक टीम २ हप्ता बढी सेवा गरेर फर्किएको छ ।
जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णय अनुसार खटिएको दक्ष जनशक्ति सहितको टोलीले १५ दिनभन्दा बढी स्वयंसेवी काम गरेको छ ।
कात्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदार सहितको जिफन्टको टोलीले मंसिर १ गतेदेखि र अन्य स्वयंसेवकले मंसिर ३ गतेदेखि काम गरेका थिए ।
कात्तिक १८ गते पार्टी उपमहासचिव विष्णु रिमाल सहितको टोलीले भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन गरेपछि त्यसको भोलिपल्टै अनेरास्ववियुको चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । टोली उद्धारको काममा खटिएको थियो ।
प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउन र अस्थायी आवास निर्माणको लागि पहिलोपटक कात्तिक ३० गते दक्ष जनशक्ति सहित जिफन्टको ७५ जनाको समूह काठमाडौंबाट प्रस्थान गरेको थियो । टोलीले मंसिर १ गतेदेखि काम सुरु गरेको थियो ।
त्यसपछि पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयबाट केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा मंसिर ३ गते देशभरबाट १ हजार स्वयंसेवकको टीम प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण तथा भत्किएका संरचना हटाउने काममा खटिएको थियो ।
एमालेले २५ जनाका दरले ४० वटा समूह बनाई प्रभावित क्षेत्रमा खटाएको थियो । ती स्वयंसेवक प्रभावित २ जिल्लाका विभिन्न बस्तीमा भग्नावशेष व्यवस्थापन तथा अस्थायी आवास निर्माणमा जुटेका थिए । जसमध्ये २५ समूहले जाजरकोटमा र १५ समूहले रुकुम पश्चिम काम गरेका थिए ।
एमालेका स्वयंसेवकले ५०३ वटा घरको भग्नावशेष व्यवस्थापन गरेका स्वयंसेवक टीमको नेतृत्वकर्ता एमाले नेता किरण पौडेलले जानकारी दिए । ‘भूकम्पले धराप बनाएका घरहरूबाट जोखिम मोलेरै भए पनि जनताका सरसम्पत्ति सुरक्षित बाहिर निकालिदियौं, पूर्ण रूपले क्षति भएका घरभित्र पुरिएका सामान उत्खनन् गरेर सम्बन्धित परिवारलाई बुझायौं,’ पौडेलले भने ।
स्वयंसेवाका क्रममा ८१३ अस्थायी आवास निर्माण गरिएको उनले जानकारी दिए । स्वयंसेवाबाट गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपले विपन्न परिवारलाई राहत पुगेको उनले बताए ।
एमालेको स्वयंसेवक टोलीले १६ वटा अस्थायी विद्यालय समेत बनाएर हस्तान्तरण गरेको छ । भूकम्पले घर भत्किएर ठप्प भएका ती विद्यालयमा अस्थायी कक्षा कोठामा पठनपाठन सुरु भएको छ ।
स्वयंसेवक टोली फर्किए पनि अस्थायी आवास निर्माणको अभियान नरोकिएको उनले बताए । स्थानीय नेताहरूको नेतृत्वमा अभियानलाई निरन्तरता दिने गरी हस्तान्तरण गरिएको उनले बताए । आफूहरूले लगेका सामाग्रीहरू स्थानीय नेतृत्वलाई नै काम निरन्तरता दिने गरी हस्तान्तरण गरेर आएको स्वयंसेवामा बाग्मतीबाट एउटा टोलीको नेतृत्व गरेर फर्किएका राज मैनालीले जानकारी दिए ।
नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नेपाल सरकारलाई केही सुझाव समेत दिएको छ । यतिखेर प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम रहेको पौडेलले बताए । व्यवस्थित शौचालयको कमीका कारण निकट भविष्यमा विभिन्न किसिमका महामारी फैलिन सक्ने जोखिम रहेको उनले जानकारी दिए । नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको यथाशीघ्र ध्यान जानुपर्ने उनले बताए ।
हालसम्म पुनर्निर्माण कसरी सुरु हुन्छ र कसरी सम्पन्न हुन्छ भन्ने स्पष्ट खाका सरकारले तयार गर्न सकेको भन्दै उनले चिन्ता व्यक्त गरे । देशभित्र ७ हजारभन्दा बढी पूर्वाधार विकास सम्बन्धी दक्ष जनशक्ति भएकाले सरकारले उनीहरूको दक्षतालाई स्थानीय सरकारमार्फत प्रयोग गर्नुपर्ने एमालेले सुझाव दिएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपश्चात् मात्रै देशमा १ लाखभन्दा बढी दक्ष सिकर्मी–डकर्मी उत्पादन भएका स्मरण गराउँदै उनले उनीहरूमध्ये के कति आवश्यक हुन् र कसरी पुनर्निर्माणमा प्रयोग गर्ने हो ? सरकारले योजना बनाएर परिचालन गर्न सुझाव दिए ।
अस्थायी आवास निर्माण गर्न सरकारले दिने निर्णय गरेको प्रतिपरिवार ५० हजार रुपैयाँ कहिलेसम्म दिने भन्दै उनले प्रश्न गरे । अहिले प्रत्येक पालिकामा वित्तीय संस्थाहरू खुलेकाले तत्काल बैंकमार्फत भूकम्प प्रभावित परिवारलाई रकम दिन उनले सुझाव दिए । राहत रकममा भ्रष्टाचार नगर्न पनि एमालेले खबरदारी गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा गहिरो मनोवैज्ञानिक असर परेकाले यथाशीघ्र मनोपरामर्शदाता परिचालन गर्नुपर्ने सुझाव एमालेको छ । मनोपरामर्शका लागि शिक्षकलाई समेत परिचालन गर्न एमालेले सुझाव दिएको छ ।
सरकारले विपद् व्यवस्थापन प्राधिकरणलाई गृह मन्त्रालयको एउटा सामान्य विभाग जस्तो बनाएर कर्मकाण्डी बनाएकोप्रति एमालेले आपत्ति जनाएको छ । प्राधिकरणलाई प्रधानमन्त्रीको कार्यालय अन्तर्गत राखेर प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा पुनर्निर्माण सम्बन्धी सम्पूर्ण काम कारबाही अघि बढाउन सुझाव दिइएको छ ।
पुनर्निर्माण भनेको केवल घर ढलेका ठाउँमा अर्को संरचना उठाउनु नभई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पनि उठाउनु भएकाले सोही किसिमको रणनीति अख्तियार गर्न एमालेले सुझाव दिएको छ । ‘कतिपय स्थानमा एकीकृत बस्तीको योजना ल्याउन सकिन्छ भने कतिपय स्थानका सम्पूर्ण बस्ती नै अर्को स्थानमा सार्नुपर्ने हामीले देखेका छौं, तसर्थ सरकारले आम नागरिकको मनोबल वृद्धि हुने गरी काम गरोस्,’ एमालेको सुझाव छ ।
भूकम्पमा परी १५७ जनाको ज्यान गएको थियो भने २७५ जनाभन्दा बढी घाइते भएका थिए । भूकम्पबाट १ लाख ८० हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपले प्रभावित बनेका छन् ।
तथ्यांकअनुसार जाजरकोटमा ९ हजार ७९४ निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने २४ हजार ७०७ घर आंशिक रूपमा क्षति भएका छन् । रुकुममा १६ हजार ५७० निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने ९ हजार ९६१ आंशिक क्षति भएको आकलन गरिएको छ ।