काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री प्रकरणमा सरकारले प्रेस विज्ञप्ति निकाल्दै औपचारिक धारणा सार्वजनिक गरेको छ ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दे सरकारी अध्ययन र छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानून बमोजिम कडा कारवाहीको दायरामा ल्याउने बताइन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ ।’
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिइसकेका विज्ञप्तिमा उल्लेख छ ।