टिकटकपछि सरकारले अन्य सामाजिक सञ्जाल पनि बन्द गर्न लागेको हो ?

चितवन । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय एक्कासि गरेपछि अब अन्य सामाजिक सञ्जाल पनि बन्द हुने हो कि भनेर चिन्ता व्यक्त हुँदै आएको छ ।

शनिबार चितवन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि यसबारे प्रश्न गरिएको छ । भरतपुर विमानस्थलमा पत्रकारको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौं । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो ।’

पत्रकारले थप स्पष्ट हुन खोजेपछि उनले भने, ‘अरु सामाजिक सञ्जालका बारेमा चर्चा–परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन गर्छौं ।’

उनले सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्‍याउनुपर्ने बताए । ‘हामी स्वतन्त्रलाई कुण्ठित गर्दैनौं । हामी यसलाई नियमन गर्ने दिशातर्फ मात्रै गइरहेका छौं,’ उनले भने ।

नियमनको दायरामा नआउने सामाजिक सञ्जाललाई बन्द गर्ने गरी सरकारले निर्देशिका लागू गरेको छ ।

उनले कानून हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताए ।

Loading...