गायिका वलीको परिवारद्वारा आमाको नाममा २० लाखको अक्षयकोष स्थापना

काठमाडौं । गायिका तथा नेकपा एमाले नेत्री कोमल वलीको परिवारले स्व. आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

आमाको सम्झनामा दाङका छात्राहरूलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् ।

अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरूलाई पढ्न छात्रवृत्ति प्रदान गरिने कोमल वलीले बताइन् । ‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर ८ कक्षाबाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूर्ण खर्च ट्रष्टले व्यहोर्नेछ,’ वलीले भनिन्, ‘आमाले पढ्न पाउनुभएन । स्कूल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरूले पनि पढ्नुपर्छ भनेर हामीलाई सधैं पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’

आमाले सबैका छोरी पढ्नुपर्छ भन्ने गरेको र कोषले आर्थिक अभावमा अध्ययनबाट वन्चित छोरीहरूलाई सहयोग गर्ने विश्वास आफूले लिएको वलीले बताइन् ।

वली परिवारले बर्सेनि आमाको स्मृति दिवसको अवसर पारेर १ जना महिला नेत्रीलाई सम्मान गर्ने पनि घोषणा गरेको छ । राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’बाट सम्मान गरिने कोमल वलीले बताइन् ।

आफ्नी आमा पञ्चायतकालीन समयमा नै महिला संघमा सक्रिय रहेर नगर उपाध्यक्षसम्म बनेर काम गरेको स्मरण गर्दै वलीले भनिन्, ‘आमा राजनीतिमा महिलाको सहभागिता हुनुपर्छ, त्यसले परिवार र समाज दुवैलाई उन्नत बनाउन र चेतना फैलाउन सहयोग गर्छ भन्नुहुन्थ्यो । उहाँकै यही विश्वासलाई आधार बनाएर हामीले यो सम्मान बर्सेनि दिने योजना बनाएका हौं ।’

दीपा वली र उनका श्रीमान् ललित वलीको नाममा स्थापित दीपा–ललित ट्रष्टले छात्रवृत्ति र सम्मानको कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयन गर्ने र पहिलो वार्षिकीमा वितरण गरिने पनि वलीले जानकारी दिइन् ।

कोमल वलीको चर्चित गीत ‘मलमल किरी जुनकिरी’ लगायत २ दर्जनभन्दा बढी गीतकी रचनाकार समेत रहेकी दीपा वलीको मंसिर २ गते काठमाडौंमा निधन भएको थियो ।

Loading...