दिल्ली । नेपाल–भारत मैत्री संगठनले दोस्रो अन्तर्राष्ट्रिय नेपाल–भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक गरेको छ ।
नेपाल–भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुपकुमार सिंहले दिल्लीमा औपचारिक कार्यक्रमबीच लोगो सार्वजनिक गरेका हुन् ।
लोगो सार्वजनिक गर्दै अध्यक्ष सिंहले वृन्दावन कार्यक्रमले नेपाल र भारतका जनताका बीचको सम्बन्धलाई थप सुमधुर बन्न मद्दत पुग्ने बताए ।
लोगोमा दुवै देशको झण्डासहित ‘देश वेश भाषा अनेक फिर भी संस्कृति एक’ भन्ने नारा उल्लेख गरिएको छ । लोगोमा भगवान् श्रीकृष्णको नगरी वृन्दावन प्रतिबिम्बित हुने मयूरको प्वाख र बासुरीलाई आकर्षक ढंगले समावेश गरिएको छ ।
३ दिनसम्म चल्ने कार्यक्रम आगामी पुस २१ गते सुरु हुनेछ । नेपाल र भारतका गरी करीब ५०० जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने कार्यक्रममा नेपाल–भारत मैत्री कन्क्लेभमार्फत २ देशका जनताका सरोकारसँग सम्बन्धित ४ वटा कार्यपत्रमाथि छलफल गरिने संगठनका नेपाल प्रभारी अर्चना सिंहले जानकारी दिइन् ।