राजावादीले महेन्द्रनगरमा गरे सहिद भीमदत्त पन्तको सालिकमा तोडफोड, ३ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित भीम वाटिका (पार्क) मा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरिएको छ ।

‘राजतन्त्र जिन्दावाद’ भन्दै निकालिएको राजावादीको र्‍याली बजार परिक्रमापश्चात् पार्कमा पुगेपछि सालिकमा तोडफोड गरिएको हो ।

तोडफोडकै क्रममा आइपुगेको प्रहरीले रोकेपछि सालिकमा आंशिक क्षति पुगेको छ । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई पार्कबाट बाहिर निकालेको थियो ।

तोडफोडमा संलग्न रहेका ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए । तोडफोड लगत्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा प्रशासनका अधिकारी, भीमदत्त नगरपालिकाको १८ नम्बर वडाका वडाध्यक्ष रविन्द्र देवकोटा, भीम वाटिका संरक्षण समिति र भीमदत्त पन्त स्मृति प्रतिष्ठानका प्रतिनिधिबीच छलफल भएको छ ।

Loading...