छठ पर्वमा आज ‘खरना’ गरिँदै

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज शनिबार कात्तिक शुक्ल पञ्चमीमा खरना गरिँदैछ ।

पञ्चमीका दिन बिहानै घरआँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ ।

छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ आदिको बढी प्रयोग गरिन्छ ।

४ दिने छठ पर्वका पहिलो दिन शुक्रबार व्रतालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका थिए । जसलाई छठ व्रतालुको भाषामा नहाय–खाय भन्ने गरिएको छ । छठका व्रतालुले कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल पूर्णिमादेखि नै लसुन, प्याज लगायत तामसी खानेकुरा नखाई चोखो खाएर बस्ने व्रतविधि रहेको छ ।

छठ पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीमा आईतबार नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । कात्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि ४ दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्यदान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्य पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी १ वर्षे अज्ञातवास सफल भएको महाभारतलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्यका २ श्रीमती छाया र संज्ञा कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रूपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वास छ । छठमा सूर्यलाई विधिपूर्वक पूजा, आराधना गरेर अघ्र्य दिएमा मनोकामना पूरा हुनाका साथै छालाजन्य रोग पनि निको हुने विश्वास गरिएको छ ।

सम्बन्धित
Loading...