घर बिदामा रहेका सशस्त्र प्रहरीको जंगलमा हत्या, १ जना पक्राउ

काठमाडौं । घर बिदामा रहेका बेला मालुका पात टिप्न जंगल गएका सशस्त्र प्रहरीका जवानको गोली प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

दाङको घोराही उपमहानगरपालिका–७ हर्निया घर भई सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वार्टर तौलीहवा कपिलवस्तुमा दरबन्दी भएका सशस्त्र प्रहरी जवान २८ वर्षीय जगरु चौधरीको गोली हानेर हत्या गरिएको थियो ।

मालुको पात टिप्न स्थानीय जनसेवा सामुदायिक वनमा गएका बेला चौधरीमाथि गोली प्रहार भएको र घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी जवान चौधरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–५ बरलाटोल बस्ने ५५ वर्षीय शेरबहादुर केसी छन् । प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

गोली प्रहार गरी चौधरीको हत्या गरेपछि फरार रहेका केसीलाई घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । केसीलाई सोधपुछ गरी घटनामा प्रयोग भएको भरुवा बन्दुक १ थान र भरुवा बन्दुकमा प्रयोग हुने सिसाको छर्रा तथा बारुद जंगलको ओढारमा लुकाएको अवस्थामा बरामद गरिएको छ ।

Loading...