काठमाडौं । पश्चिम सेती जलविद्युत् परियोजना निर्माणको माग गर्दै सरकारमाथि दबाब सिर्जना गरिरहेको बोलन्या थलीले वृक्षरोपण अभियान सुरू गरेको छ ।
बोलन्या थलीले डोटीको दिपायलसिलगढी नगरपालिका–२ हलीखोलाबाट वृक्षरोपण अभियान सुरू गरेको हो ।
वृक्षरोपण कार्यक्रममा स्थानीय समाजसेवी जीत खड्का र वडाध्यक्ष राजेन्द्र खड्कासहित ६० जनाको उपस्थिति रहेको थियो भने वृक्षरोपणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय डोटीले विरुवाहरू उपलब्ध गराएको थियो ।
वृक्षरोपण अभियान सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा ७५० विरुवाका दरले ६६ हजार विरुवा रोपिने बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
डोटी–डडेल्धुरामा ७५० मेगावाट क्षमताको जलाशययुक्त आयोजना पश्चिम सेती यथाशीघ्र बनाउन माग गर्दै बोलन्या थलीले विभिन्न रचनात्मक आन्दोलन गर्दै आइरहेको छ ।
यसअघि बोलन्या थलीले पश्चिम सेती परियोजनाको माग राख्दै काठमाडौंको माइतीघरमा कचौरा आन्दोलन, सांसदहरूको साझा सार, सडक संगीत र संघर्ष, प्रधानमन्त्रीलाई १ लाख पत्र, दिपायलको पुलमा ७५० टुकी आन्दोलन सम्पन्न गरिसकेको छ ।