काठमाडौं । नेपाली नागरिकको कमाइमध्ये ५७% रकम स्वास्थ्य उपचारमा खर्च हुने गरेको एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य उपचारमा प्रत्येक नागरिकको व्यक्तिगत खर्च ५७.२ प्रतिशत हुने गरेको छ ।
महंगो स्वास्थ्य उपचार प्रणालीका कारण प्रत्येक वर्ष झण्डै ५ लाख नेपाली गरीबीको रेखामुनि धकेलिने गरेकोे पाइएको छ । दीगो विकास लक्ष्य र युनिभर्सल हेल्थ कभरेजबारे विश्व स्वास्थ्य संगठनले पछिल्लोपटक गरेको दक्षिणपूर्वी एसिया स्तरीय अध्ययनमा स्वास्थ्य उपचारका कारण गरीबी बढेको देखाएको छ ।
अध्ययनअनुसार स्वास्थ्य सेवा प्राप्त गर्न हुने उच्च खर्चका कारण प्रत्येक वर्ष करीब ५ लाख नेपाली गरीबीको रेखामुनि धकेलिने गरेका छन् ।
नेपाल जस्तो न्यून आय भएको मुलुकमा सरकारले प्रतिव्यक्ति ८६ अमेरिकी डलर स्वास्थ्य सेवामा खर्च गर्नुपर्नेमा प्रतिव्यक्ति २० अमेरिकी डलर मात्रै सरकारले खर्च गरिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयले तयार पारेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०–२०९०) मा राज्यले उपयुक्त सामाजिक स्वास्थ्य सुरक्षाका उपायमार्फत स्वास्थ्यमा हुने व्यक्तिगत खर्च कम गराउन सक्ने उल्लेख गरेको छ ।