धनगढी । इजरायलमा हमासले मच्चाएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिमका ४ विद्यार्थीको शव मृतकका आफन्तको जिम्मा लगाइएको छ ।
कैलालीको जोशीपुर गाउँपालिका आशिस चौधरी, घोडाघोडी नगरपालिकाका नारायणप्रसाद न्यौपाने, दार्चुलाको मल्किार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निम्बुखेडाका दीपेशराज विष्टको शव आफन्तलाई बुझाइएको छ ।
मृतक ४ विद्यार्थीको शव नेपाली सेनाको स्काई ट्रकमार्फत् धनगढी विमानस्थलमा पुर्याइएको हो । शव बुझ्न मृतकका आफन्त धनगढी विमानस्थल पुगेका थिए ।
विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, मृतक विद्यार्थीलाई अध्ययन गरेको सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत स्कूल अफ एग्रीकल्चर, कृषि विज्ञान संकाय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, आफन्तजन लगायतले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
स्कूल अफ एग्रीकल्चर, कृषि विज्ञान संकाय टीकापुरका प्राध्यापक सुशील न्यौपानेका अनुसार ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि ४९ युवा विद्यार्थी इजरायल गएकोमा १७ जना हिंसात्मक घटनामा परेका थिए । यीमध्ये १० जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका रहेकोमा ३ जनाको शव पुग्न बाँकी छ ।
कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी बेपत्ता रहेका बताइएको छ । घटनामा घाइते भएका ३ जना उपचारमा रहेका छन् भने ३५ जना नेपाल फिर्ता भइसकेका छन् ।