काठमाडौं । अमेरिकी सहयोगको एमसीसी सम्झौताका पक्षमा बोलेपछि आफूलाई ज्यान मार्ने धम्की आएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताउनुभएको छ ।
संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ व्यवसायबारे भइरहेको छलफलमा मन्त्री भट्टले धम्कीबारे बताउनुभएको हो ।
मन्त्री भट्टको गृहप्रदेश सुदूरपश्चिमको बझाङबाट एक जना व्यक्तिले फोन गरेर ‘जहाँ भेट्यो त्यहीँ टाउको काट्छु’ भनेर धम्की दिएको जनाइएको छ ।
छलफलमा मन्त्री भट्टले भन्नुभयो, ‘मलाई बझाङबाट फोन गरेर एक जनाले एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनुभएको छ । मैले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दा चाहिँ उहाँले थाहा छैन भन्नुभयो ।’
नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको मन्त्री भट्टले बताउनुभयो । बैठकमा सहभागी सांसदहरूले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ कोट्याउँदै अहिले फेरि मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको भन्दै प्रश्न गरेका थिए ।
सांसदका प्रश्नको जवाफमा मन्त्री भट्टले मन्त्रालयले कानून कार्यान्वयन मात्रै गरेको बताउनुभयो । संसदले नै २०७४ सालमा नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानून बनाएकाले अहिले मन्त्रालयले कार्यान्वयन गरेकाले त्यसमा कमिसनको चक्कर रहेको भन्ने प्रश्नै नरहने उहाँको दाबी छ ।
‘मन्त्रालयले कानूनको कार्यान्वयन मात्रै गरेको हो । मिडियामा नेटवर्किङ कम्पनी गर्दा गर्दा गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’ उहाँले भन्नुभयो ।