भोलिदेखि गेटा अस्पताल सञ्चालन हुँदै, १०० शय्या पुर्‍याउने लक्ष्य

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा भोलि बुधबारदेखि अस्पताल सञ्चालन हुने भएको छ ।

गेटा मेडिकल कलेजका लागि भनेर बनेका संरचनामा भोलिदेखि न्युनतम सेवासहितको अस्पताल सञ्चालन हुने निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए ।

भोलि बुधबार बिहान १० बजेदेखि बिरामीको नाम दर्ता, चेकजाँच र उपचार सेवा सुरु हुनेछ । अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सक खटिएका छन् भने थप २ जना चिकित्सक आउने क्रममा रहेका डा. जोशीले जानकारी दिए ।

तत्कालका लागि आधारभूत सेवा मात्रै उपलब्ध भए पनि अस्पताललाई १०० शय्यासम्म विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । ‘स्वास्थ्य सेवा विभागबाट प्राप्त भएका उपकरण जडान भइसकेका छन्, फार्मेसी सेवा पनि अस्पतालभित्रै खुलिसकेको छ,’ उनले भने ।

अस्पतालको औपचारिक उद्घाटनको कुनै कार्यक्रम राखिएको छैन । भोलि बिहान १० बजेदेखि विशेषज्ञ चिकित्सकहरू ओपीडीमा बसेर बिरामीलाई सेवा दिनेछन् ।

सरकारले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनाका लागि विधेयक तयार गरेको छ । विधेयक संसद्बाट पारित भएपछि गेटामा चिकित्सा विश्वविद्यालय स्थापना गरिनेछ ।

Loading...