काठमाडौं । ईजरायलमाथि भएको आतंककारी हमलामा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
ईजरायलस्थित नेपाली दूतावासले आधिकारिक फेसबूक पेजमार्फत मृतकसहित १७ नेपालीको अवस्थाबारे विवरण सार्वजनिक गरेको छ ।
मध्यराति २ः२६ बजे फेसबूक पेजमा दूतावासले लेखेको छ, ‘हार्दिक श्रद्धान्जली ! ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत् गत महिना मात्रै ईजरायल आइपुग्नुभएकामध्ये दक्षिणी इजरायलको एग्रिकल्चर सेन्टर अन्तर्गत फार्ममा प्रशिक्षणरत रहेकै बखत प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जनासहित घटनामा परी घाइते हुनुभएका/अस्पतालमा उपचाररत लगायतका नेपाली विद्यार्थीहरूको पछिल्लो/अद्यावधिक विवरण सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको व्यहोरा हार्दिक अनुरोध छ ।’
दूतावासले दुःखको घडीमा मृतक विद्यार्थीहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ । दूतावासले लेखेको छ, ‘शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अविव आइपुगेका र उद्धारको पर्खाइमा रहेका बककाकी नेपाली विद्यार्थी अनि श्रमिकहरूलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र ईजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रूपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र आवश्यक चाँजो मिलाएर नेपाल पठाउने दिशामा गृहकार्य भइरहेकाले हाल आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेसन प्रक्रियामा सहभागी हुन समेत दूतावासले सम्बन्धित सबैलाई आह्वान गरेको छ ।
यस्तो छ नेपाली विद्यार्थीको विवरण –
क्र.सं. राहदानी नं नाम थर अवस्था/स्थिति
१. BA0046756 आनन्द साह – निधन
२. BA0050744 नारायण प्रसाद न्यौपाने – निधन
३. PA1832545 लोकेन्द्र सिंह धामी – निधन
४. BA0133670 राजेश कुमार स्वर्णकार – निधन
५. PA1869615 गणेश कुमार नेपाली – निधन
६. PA1773440 दिपेश राज विष्ट – निधन
७. BA0017890 राजन फुलरा – निधन
८. BA0017892 पदम थापा – निधन
९. PA1560328 प्रवेश भण्डारी – निधन
१०. PA1651757 आशिष चौधरी – निधन
११. PA1848403 विपिन जोशी – अज्ञात
१२. विधान सेजुवाल – उपचाररत
१३. BA0079958 हिमांचल कट्टेल – उपचाररत
१४. 12482178 प्रविण डाँगी – उपचाररत
१५. धन बहादुर चौधरी – सकुशल (उपचार पश्चात्)
१६. विरेन्द्र चौधरी – सकुशल
१७. 12388817 प्रमोद के.सी. – सकुशल