भोलिदेखि सस्तो पसल सञ्चालन हुँदै, कुन–कुन ठाउँमा कति रुपैयाँ छुट ?

काठमाडौं । सरकारले भोलि आईतबारदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दैछ ।

काठमाडौं उपत्यकामा रहेका ८ बिक्री केन्द्र र ३ घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन् ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।

साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नूनमा प्रतिकिलो २ र तेल तथा चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिनेछ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रति २०० ग्राममा २० रुपैयाँ छुट दिने जनाइएको छ ।

Loading...