धनगढी । बझाङमा भूकम्प आएको ३ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थलगत अवलोकन गर्न बझाङ पुगेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री प्रचण्ड बझाङको सैनिक ब्यारेकमा अवतरण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम निर्धारण गरिएको जनाइएको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमूलक क्षेत्र देखाउने तयारी गरिएको बताए । प्रधानमन्त्रीको आगमनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
असोज १६ गते बझाङको तलकोट र चैनपुर केन्द्रविन्दु भएर भूकम्प आएको थियो । त्यसयता बझाङमा पटक–पटक भूकम्पका धक्का महसूस गरिएका छन् ।