काठमाडौं । आकर्षक रोजगारीमा अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
रोल्पाको परिवर्तन गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने ३१ वर्षीय रवि घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
मगरले १ जनालाई वैदेशिक रोजगारका लागि अजरबैजान पठाई टायल मेसनमा ९० हजार रूपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ४ लाख १३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको आरोप छ ।
वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।