काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले आकस्मिक बैठकमा मूल्यवृद्धिबारे निर्णय हुने जानकारी दिइन् । सामाजिक सञ्जालमा लेख्दै उनले स्वचालित मूल्यवृद्धि गर्दा राजनीतिक नेतृत्वसँग छलफल नभएको जानकारी दिइन् ।
उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूबाट आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान । पेट्रोलियम पदार्थलाई स्वचालित मूल्य प्रणालीमा लिनुपर्छ भन्ने सरोकारवाला निकायहरूको समेत सुझावको नेपाल आयल निगमले केही महिना अघिदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो तर केही समययता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको र सोही अनुसार नेपाल आयल निगमले मुल्यवृद्धि गरेको देखियो । नेपाली जनताको कमजोर क्रयशक्ति, चाडवाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनीतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ । यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।’