पितृ पक्षमा सोह्र श्राद्ध सुरू

काठमाडौ । पितृ पक्षमा आजदेखि सोह्र श्राद्ध सुरू भएका छन् ।

सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृ पक्षका रूपमा मनाउँछन् । औंसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।

आमाबुवा नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन औंसीमा श्राद्ध गर्ने परम्परा छ । यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथि समेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिएको धर्मशास्त्री डा. रामचन्द्र गौतमले बताए ।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औंसी वा आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ । यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ ।

मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पिता (बुवा) तर्फका ३ र माता (आमा) तर्फका ३ पुस्तालाई सम्झिइन्छ ।

यो पक्षमा गरिने श्राद्ध अपराह्नमा गर्नुपर्ने विधान छ । पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त पात्रोमा शनिबार प्रतिपदा तिथि २० घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५९ मिनेटसम्म छ । पञ्चांग अनुसार प्रतिपदा र द्वितीयाका श्राद्ध एकैदिन परेको छ । तिथि घटबबढ हुँदा प्रतिपदा र द्वितीया श्राद्ध एकैदिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

सोह्रश्राद्ध लागेसँगै काठमाडौंको बागमती, गोकर्णेश्वर र शंखमूल, चितवनको देवघाट, नुवाकोटको वेत्रावती लगायत नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लाग्छ । सोह्रश्राद्ध असोज २७ गते शनिबार पूरा हुनेछ ।

Loading...