अबको १ महिनापछि नियमित पठनपाठनको बन्दोबस्त मिलाउँदै सरकार

काठमाडौं । आगामी भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ ।

सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो ।

सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास भएकाले यसपटक सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ ।

साउनसम्मको अवस्थालाई विश्लेषण गरेर यस विषयमा अन्तिम निर्णय गर्ने योजना बनाइएको छ । सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय गरिसकेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विगतमा सरकारले विद्यार्थी भर्नाको तयारीका लागि १५ दिन समय दिने र त्यसपछि नियमित पठनपाठन शुरू गर्ने गरेकाले यसपटक पनि त्यो सम्भावना रहेको बताउनुभयो । कोरोनाको संक्रमण नबढेको अवस्थामा भदौ मध्यबाट पठनपाठनको सम्भावना देखिएको उहाँ बताउनुहुन्छ ।

भदौ १५ गतेबाट विद्यालय तहको पठनपाठन नियमित शुरू गर्न सकिए आगामी चैत वा वैशाखसम्म पठनपाठन पूरा गर्न सकिने सम्भावना रहेको जनाइएको छ । चैतमा सामान्यतया शैक्षिक सत्र सकिने भए पनि यसपटक चैत वा वैशाखसम्ममा शैक्षिक सत्र पूरा गर्न सकिने केन्द्रका निर्देशक गौतमले बताउनुभयो । पछिल्लो शैक्षिक सत्रको एक महिना अध्यापन गराउन सकिए समस्या नहुने उहाँको भनाइ छ ।

सरकारले औपचारिक रूपमा असार १ गतेदेखि सबै विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सञ्चालनमा ल्याएको छ । वैकल्पिक विधिबाट गरिएको पठनपाठनलाई निश्चित मूल्यांकन गरिएको अवस्थामा शैक्षिक सत्र पूरा गर्न सकिने निर्देशक गौतम बताउनुहुन्छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक क्रियाकलाप तथा परीक्षा सञ्चालनसमेत खुला गरिएपछि भदौ १५ बाट नियमित पठनपाठनमा जानु सान्दर्भिक नै हुने बताउनुभयो । तर सामाजिक दूरी भने कायम गर्न सक्नुपर्ने र त्यसलाई विशेष रूपमा व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी गरेको र हाल खुला रहेको अवस्थामा विद्यालय सञ्चालन गर्न सकिए त्यसले सकारात्मक सन्देश दिने उहाँको भनाइ छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीका पुरीले विद्यालय खुल्ने कुरा सङ्क्रमणमा भर पर्न सक्ने उल्लेख गर्दै परिस्थितिको आकलन गरेर निर्णय लिनु उपयुक्त हुने बताउनुभयो । संक्रमण नभएको स्थानमा विद्यालय खोल्नु सान्दर्भिक नै हुने उहाँ बताउनुहुन्छ ।

(गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेख्नुभएको छ ।)

सम्बन्धित
Loading...