कांग्रेसमा गम्भीर प्रश्न : महाधिवेशनको मुखमा पार्टीबाटै निष्कासन कति न्यायोचित ?

काठमाडौं । गत प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको अनुशासन समितिले पुराना नेतालाई पार्टीबाट निष्कासन गरेपछि नेपाली कांग्रेसमा बहस र विवाद चर्किएको छ ।

नेताहरू तनहुँका गोविन्दराज जोशी, कैलालीका पुष्करनाथ ओझा र डडेल्धुराका रामबहादुर विष्ट समेतलाई पार्टीबाट निष्कासन गरेपछि पार्टी महाधिवेशनको मुखमा निष्कासन गर्नु न्यायोचित हो/होइन भनेर प्रश्न गर्न थालिएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता दिलिप बाबु शिवाले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै कारवाहीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

यस्तो छ नेता शिवाको फेसबूक स्टेटस –

महाधिवेशन सम्मुखमा किन अनुशासन कारवाही ?

नेपाली कांग्रेसको नरमपन्थी चेतले रत्नाकरलाई वाल्मीकि बन्ने मौका दिन्छ । यो कांग्रेसले शिरोधार्य गरेको प्रजातन्त्रिक पद्धति भित्रको सुन्दर अभ्यास पनि हो ।

विगतलाई कोट्याएर हेर्दा पनि महाधिवेशन नजिकिँदै गर्दा जारी भइरहेको कारवाही समेत फुक्का गरेर निकास र समाधानको मार्ग निर्माण गर्ने परिपाटी कांग्रेसभित्र रहिआएको छ ।

निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा निर्वाचन परिणाम सार्वजनिक भएको करीब आधाभन्दा बढी समय बितिसकेपछि, महाधिवेशन सम्मुखमा अनुशासनको कारवाहीसहित पार्टीबाटै निष्कासित गरिनु कति औचित्यपूर्ण र न्यायोचित हुन्छ ?

यस निर्णयका पछि कतै कुनै नेताको व्यक्तिगत हठलाई जिताउने कपट त हैन ? यदि यसो हो भने यो नेपाली कांग्रेसका लागि र कांग्रेसको भविष्यका लागि दुर्भाग्यपूर्ण सावित हुनेछ ।

कृपया

पार्टीले गरेका हरेक निर्णयमा आँखा चिम्लिएर समर्थन गर्ने काम कारिन्दाहरूको हो । कार्यकर्ताको ब्रह्मले सही–गलतको विश्लेषण गर्छ र आफ्नो धारणा बनाउँछ ।

नेतालाई पार्टीको माया जति लाग्दछ, कार्यकर्तालाई अझै बढी लाग्ने स्वाभाविक हुन्छ ।

उग्रभद्रता र अनुदारतावादी नीतिले पार्टीभित्र बिग्रह निम्त्याउँछ, जसको नोक्सानी भोलिको दिनले व्यहोर्नुपर्ने हुन्छ ।

विशेषगरी तनहुँ जिल्लाको कांग्रेसको सांगठनिक भविष्यमा यो निर्णयले कुठारघात गर्नेछ । गम्भीर हुनुपर्ने परिस्थितिमा उत्तेजित नहुन केन्द्रीय नेतृत्वसँग हामी तमाम आउने पुस्ताको आग्रह छ । जय नेपाल !

सम्बन्धित
Loading...