डिलाशैनीमा उपाध्यक्षले मच्चाएको ‘रङलो’ : अब ‘स्वतन्त्र’ अध्यक्षलाई अप्ठ्यारो पर्छ ?

धनगढी । बैतडीको डिलाशैनी गाउँपालिकामा यतिबेला प्रमुख प्रशासकीय अधिकृत सम्बन्धी विवाद चर्किएको छ ।

अध्यक्ष सन्तोषप्रकाश जोशीले २०७७ सालदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेको तर उपाध्यक्ष भगिरथ बोहराले निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहरालाई नै ‘हर्ताकर्ता’ बनाइराख्न चाहेको विवाद सतहमा आएको छ ।

डिलाशैनीमा देखिएको यस्तै ‘रङलो’बीच नयाँ प्रमुख प्रशासकीय अधिकृत भएर आउँदैछन् रंजय पटेल । उनी आउँदा कार्यालयमा सहज कामकाज गर्न पाउँछन् ? सर्वत्र चासो छ ।

अध्यक्ष जोशी पालिकाबाहिर भएका बेला कार्यबाहक अध्यक्षको हैसियतले उपाध्यक्ष बोहराले गत भदौ १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् ।

चलानी नं. १०५ रहेको पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै सबै अधिकार दिएर खटाउन आग्रह गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहरा छन् । सरकारले प्रमुख प्रशासकीय अधिकृतको रूपमा रंजन पटेललाई खटाएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएपछि कार्यबाहक अध्यक्ष बोहराले मन्त्रालयलाई लेखेको पत्रका उल्लेख छ, ‘यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको हुँदा यस गाउँपालिकामा जिल्लाभन्दा बाहिरको व्यक्तिबाट कामकाज गराउन सहज नहुने र भनेको समयमा सेवा सुचारु गराउन असहज हुने र बाहिर जिल्लाको प्रशासकीय अधिकृत बढीजसो काज बिदामा बस्ने भएकाले हालसम्म कामकाजको जिम्मेवारीमा रहँदै आएका नि.प्र.प्र.अ.बाट बाह्रै महिना नै जनताले सेवा सुचारु सहजै रुपले पाउने भएकाले तहाँ खटाई आउने प्रमुख प्रशासकीय नखटाई दिन हुन अनुरोध गरिन्छ ।’

यस्तो छ पत्र –

  

प्रमुख प्रशासकीय अधिकृत नखटाउने सम्बन्धमा कार्यबाहक अध्यक्षले लेखेको पत्रबारे अध्यक्ष जोशी अनभिज्ञ देखिन्छन् । साउन अन्तिमतिर काठमाडौं गएर भदौ मध्यतिर फर्किएका अध्यक्ष जोशीले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्ने तयारी गरेका छन् । गाउँ कार्यपालिका र गाउँ सभाको निर्णयअनुसार दरबन्दी अनुसारका कर्मचारी पदपूर्ति गराउन केन्द्र सरकारलाई आग्रह गरिएको अध्यक्ष जोशीले बताए ।

कार्यबाहक अध्यक्षले मन्त्रालयलाई लेखेको पत्रका आधारमा डिलाशैनी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न खोजेको भन्ने सन्देश गएपछि अध्यक्ष जोशीले विज्ञप्ति नै जारी गर्नुपर्‍यो ।

अध्यक्षको विज्ञप्ति यस्तो छ –

उपाध्यक्ष बोहराले निमित्तबाट कामकाज गराउन चाहेको भए पनि मन्त्रालयले निमित्तबाट कामकाज गराउन नमिल्ने जवाफ डिलाशैनी गाउँपालिकालाई पठाइसकेको छ । मन्त्रालयले असोज २ गते पठाएको च.नं. ७३२ को पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहराको आर्थिक र प्रशासनिक कार्य गर्ने जिम्मेवारी रद्द गरिएको छ ।

यस्तो छ मन्त्रालयको पत्र

चर्किएको ‘रङलो’बीच गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो कुरा सोमबारदेखि डिलासैनी गापामा प्रमुख प्रशासकीय अधिकृतज्यूले जिम्मेवारी सम्हाल्नुहुनेछ । डिलाशैनी गापाले संघको शाखा अधिकृत पाइरहँदा गाउँपालिका परिवार अत्यन्तै खुशी पनि छ । दोस्रो कुरा डिलाशैनी गाउँपालिका गाउँसभा र कार्यपालिका बैठकले लोकसेवा आयोगलाई प्रमुख प्रशासकीय अधिकृतसहित सबै शाखामा दरबन्दी तेरिजअनुसार कर्मचारी माग गर्ने हामी सबैको सर्वसम्मत निर्णय छ । उक्त सर्वसम्मत निर्णयको खिलापमा कार्यालयलाई कुनै जानकारी नदिई कार्यबाहक जिम्मेवारीको दुरुपयोग गर्दै मन्त्रालयले खटाएको प्रशासकीय प्रमुखलाई पालिकामा आउने बातावरण बन्न नदिनु अत्यन्तै गलत अभ्यास हो । यो विषयमा कार्यपालिका बैठकमा गम्भीर समीक्षा हुने नै छ ।’

राजनीतिक जोडघटाउ हेर्दा उपाध्यक्ष बोहरा नेपाली कांग्रेसबाट निर्वाचित हुन् । कूल १५ सदस्यीय गाउँ कार्यपालिका कांग्रेसबाट उपाध्यक्षसहित ६ जना प्रतिनिधित्व गर्छन् । कार्यपालिकामा स्वतन्त्र ७ र एमाले २ जना छन् । स्थानीय चुनावमा जोशी वडासम्मै टीमसहित स्वतन्त्र लडेर चुनाव जितेका थिए ।

कार्यपालिकाको बहुमतको हिसाबकिताब गर्दा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई काम गराउन अप्ठ्यारो नहुने वडाध्यक्ष प्रकाशमणि भट्टले बताए । अध्यक्ष जोशीले भने, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि अब सब ठीक हुन्छ ।’

यस विषयमा उपाध्यक्ष बोहरा र निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहरासँग प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Loading...