काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक भएको वार्ता सहमति जुट्न सकेको छैन ।
विगत १ महिनादेखि निरन्तरत संवादमा जुट्दा समेत सहमति कायम हुन नसकेपछि प्रचण्डले पार्टीभित्र सामान्य परिस्थिति नरहेको र पार्टीकै अध्यक्ष ओलीको निर्देशनमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएपछि थप विवाद सिर्जना भएको छ ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने मागबाट पछि हट्दै कार्यकारी अध्यक्ष लिएर सहमति कायम गर्न तयार हुनुभएका प्रचण्डको अभिव्यक्तिले पार्टीभित्र पुनः नयाँ विवाद सिर्जना गरेको छ ।
नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र थप संकट सिर्जना भएको छ ।
पछिल्लो भेटवार्ता सकारात्मक बन्न नसकिरहेका बेला प्रचण्डले पार्टी विभाजनतिर जान सक्ने संकेत गरेपछि करीब समाधानतर्फ पुग्न लागेको विवाद बल्झिएको छ । नेकपाका नेता मणि थापाले पार्टी विभाजित हुँदा नेकपाको भविष्य संकटमा पर्ने बताउँदै देशको अहिलेसम्म प्राप्त उपलब्धि समेत खतरामा पर्ने बताउनुभयो ।
‘जनताले दुईतिहाइको मत दिएको पार्टी विभाजन गर्न होइन, देशलाई समृद्ध बनाउन हो, पार्टीभित्र असहमति र विवाद स्वभाविकरूपमा छन्, पार्टी एकता गर्ने दुवै जना अध्यक्षले नै समस्याको समाधान खोज्नुपर्छ,’ उहाँले भन्नुभयो ।
स्थानीय समितिको बैठकमा विवाद समाधान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपछि महाधिवेशनमा जाने/नजाने निर्णय प्रचण्डले लिइसक्नुभएको छैन । बैठकमा महाधिवेशनको पक्षमा सकारात्मक देखिनुभएका प्रचण्डले भोलिपल्टै वरिष्ठ नेता माधवकुमार नेपालसहितका सचिवालय र पूर्व माओवादीका स्थायी समिति सदस्यहरूलाई ओलीसँग आफूले कुनै पनि सहमति नगरेको जानकारी गराउनुभएको थियो ।
ओली र प्रचण्डबीच नियमितरूपमा संवाद भए पनि जारी समस्याको समाधानका लागि भने ठोस सहमति जुट्न सकेको छैन । दुई अध्यक्षबीच कुरा नमिल्दा एक महिना अघिबाट शुरु भएको स्थायी समिति बैठक बारम्बार स्थगित हुँदै आएको छ ।
प्रचण्डले शुक्रवार एक कार्यक्रममा दिनुभएको अभिव्यक्तिको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिवाद गर्दै खण्डन गर्नुभएको छ । प्रचण्डले दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुको साटो बरु आफू प्रधानमन्त्री रहेका बेला पहिल्यै नक्सा प्रकाशित किन नगरेको भन्ने प्रश्न गर्नुभएको छ ।
स्थायी र केन्द्रीय कमिटीका बैठकपछि पार्टी एकतासँग सम्बन्धित विषय १५ दिनभित्र टुंग्याउने भन्ने निर्णय भए पनि ८ महिना बितिसक्दासमेत ती १५ दिन किन आएनन् भनेर उहाँले प्रचण्डलाई सोध्नुभएको छ ।
थापाको प्रश्न छ, ‘कसको स्वार्थ र चाहनामा यो सब भइरहेको छ ? विपक्षी दलका नेताको यसमा कुनै गुनासो र हीनता प्रकट नहुने, सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ ? अनि यो मपाईंत्व प्रदर्शन किन ? तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टीकरण किन ?’
प्रचण्डको अभिव्यक्तिले पूर्व एमाले र पूर्व माओवादीबीच वाकयुद्ध शुरू भएको छ ।
नेपाल समाचारपत्र दैनिकमा मधसूदन रायमाझीले लेख्नुभएको छ ।
प्रचण्ड र माधव नेपाललाई चेतावनी
नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम २ वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिवेशन तथा निर्वाचन पर्खन अनुरोध गर्नुभएको छ । ज्ञवालीसँगै केन्द्रीय सदस्यद्वय एवं पूर्व मन्त्रीहरू आनन्द पोखरेल र गोकुल बाँस्कोटाले अध्यक्ष प्रचण्ड र नेता माधव नेपालका कारण नेकपाको एकता नसकिँदै मुलुक अस्थिरतातर्फ धकेलिन थालेको बताउनुभयो ।
मदन भण्डारी फाउन्डेसनद्वारा बनेपामा आयोजित जिल्ला भेला कार्यक्रममा शनिवार बोल्दै मन्त्री ज्ञवालीले सरकारको नेतृत्व छाड्नु पर्ने गरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरतातर्फ नलैजान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व महासचिव माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरूलाई अनुरोध गर्नुभयो ।
‘नेपालको नक्सा जारी गरेकै आधारमा राजीनामा दिनुपर्ने हो कि ? अरु कुनै अपराध गर्यो ?’ मन्त्री ज्ञवालीले भन्नुभयो, ‘नक्सा जारी गर्न रहर भएकाहरूले यसअघि नेतृत्वमा हुँदा किन नगरेको ? छापाखाना हुँदैमा जारी हुने हो नक्सा ? यसका लागि मुटु भएको नायक चाहियो ।’ कोरोनाभन्दा देशको चिन्ता गर्नुपर्ने समयमा नेताहरूले जनतालाई निराश पार्ने गरी गरिरहेको विवादको अर्थ नभएको बताउँदै महाधिवेशनको विकल्प नभएको ज्ञवालीले बताउनुभयो ।
‘केपी ओलीलाई हटाउने भनेको महाधिवेशन र अर्काे निर्वाचन मात्रै हो,’ मन्त्री ज्ञवालीले भन्नुभयो, ‘बहुमतबाट हटाउने सपना नदेख्नुस्, त्यस्तो हुँदा एकता रहँदैन ।’
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको नाम नलिईकन उनले २ वर्षपछि दुईतिहाइ आउने यकिन नभएकाले यही बेला पालैपालो बनौं भन्ने केहीलाई लागेको हुनसक्ने मन्त्री ज्ञवालीले बताउनुभयो । सरकारले अपेक्षाकृत काम गर्न नसकेको तर्क गर्दै उनले पार्टी र कर्मचारीबाट सहयोग नभएको मन्त्री ज्ञवालीको आरोप थियो ।
‘प्रतिपक्षभन्दा चर्को विरोध संसदमा कसले गर्छ देख्नुभएकै छ,’ उहाँले भन्नुभयो, ‘सबैको साथ हुने हो भने ५ नम्बर गियरमा सरकार चल्यो, अहिले ३ नम्बर गियरमा चलेको छ । नेकपाका दोस्रो पुस्ताका नेताहरू पनि ६० वर्ष नाघेका छन्, पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ ।’
कार्यक्रममा नेकपा नेता एवं पूर्व मन्त्री आनन्द पोखरेलले पार्टीभित्र देखिएको विवाद कुनै विचारको नभई पदका लागि भएकाले जनता र कार्यकर्तालाई निराश नपार्न नेताहरुलाई अनुरोध गर्नुभयो । महामारीमा जुध्ने बेला नेताहरूको पद लोलुपताले कम्युनिस्ट पार्टी आन्दोलनप्रति नै वितृष्णा जगाएको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तथा नेकपा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले अध्यक्ष प्रचण्डलाई क्रमभंगताका नाममा पार्टीलाई दुर्घटनामा नलैजान चेतावनी दिनुभयो । ‘२६ महिनामा ६ पटक राजीनामा माग्ने ? कार्यकर्ताहरूलाई राजनीतिक बन्दी बनाएर आफू पदका लागि लड्ने ?’ नेता बास्कोटाले भन्नुभयो, ‘नेकपाको चालक दलको सिट फेरिँदैन, चालक बदल्ने रहर हुनेहरूले महाधिबेशनसम्म कुर्ने हिम्मत गर्नुपर्छ ।’
पार्टी फुटाउन खोज्नेहरू सिमा नाका कटेर आउने सपना नदेख्न चेतावनी दिँदै नेता बास्कोटाले सहमति, सहकार्य, सहअस्तित्व, सुदृढ एकता, सुस्पष्ट एकता र हार्दिकता सहितको एकता नभएसँगै जान नसकिने बताउनुभयो ।
नेपाल समाचारपत्र दैनिकमा मोतीराम तिमल्सिनाले लेख्नुभएको छ ।