काठमाडौं । संविधान दिवस २०८० आज बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको ८ वर्ष पूरा भएको छ ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधान सभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।
संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधान सभाको प्रक्रियामा सहभागी दलका ५३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।