विद्यार्थी नेता माधव पन्तको प्रश्न : हामी संगठनमा छौं या हटाइयो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियूका पूर्व उपाध्यक्ष माधव पन्तले संगठनमा नेतृत्व चयन गर्दा अपनाइएको विधिप्रति असन्तुष्टि जनाएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले आफू संगठनमा भएको या हटाइएको भन्दै जिज्ञासा राखेका छन् ।

अनेरास्ववियूको अध्यक्ष पदमा पन्त पनि आकांक्षी थिए । तर एकलौटी रूपमा अध्यक्ष र महासचिवको नाम घोषणा गरिएकोप्रति उनको गुनासो छ ।

उनले सामाजिक सञ्जालमा फोटो राख्दै लेखेका छन्, ‘हामी ४ जना अनेरास्ववियूका उपाध्यक्ष । योग्यता क्षमताअनुसार संगठनबाट प्राप्त जिम्मेवारी बहन गरेका छौं । भदौ ८ र ९ गते काठमाडौंमा आयोजित स्थायी कमिटी बैठकमा हामी ४ मध्ये ३ जना अध्यक्षका दाबेदार थियौं । बैठकमा निर्वाचन भएन । सहमति पनि गराइएन । हामीहरूसित केही सल्लाह नगरी अध्यक्ष र महासचिव घोषणा गरियो । हामी संगठनमा छौं या हटाइयो ? अहिलेसम्म यो पनि केही भनिएको छैन । यो विषयमा पार्टी नेतृत्व, सचिवालय र सम्बन्धित जिम्मेवारी प्राप्त कमरेडहरूको ध्यानाकर्षण गराइएको छ । प्रश्नको उत्तर भेट्टिएको छैन ।’

हालै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा समेत पन्तलाई कुनै जिम्मेवारी तोकिएको छैन । अपानिमा अन्य थुप्रै नेताहरूको कार्यविभाजन गरिएको छ ।

पन्तले अगाडि लेखेका छन्, ‘यही बीचमा पार्टीको अपानि आयो, जसले पार्टी पंक्तिलाई निकै नै तरंगित बनायो । पछिल्लो अनेरास्ववियूको स्थायी कमिटी बैठक, विद्रोहको औचित्य, समाजवादी क्रान्ति र आन्दोलनको भविष्यको बारेमा चियागफ गरिएको छ । संवाद – छलफल – भेटघाट निरन्तर रहनेछ । हाम्रो प्रश्नको उत्तर खोजिनेछ । हामी थाक्ने छैनौं – हामी जुट्नेछौं ।’

सम्बन्धित
Loading...