नागका ८ रूपको पूजा गरी नाग पञ्चमी मनाइँदै, यस्तो छ सनातन मान्यता

काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज नागका ८ रूपको पूजा गरी मनाइँदैछ ।

नागका १२ नाम भएपनि ८ कूलका ८ वटा नागको पूजा गर्ने वैदिक सनातन परम्परा रहेको छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी ८ नागलाई ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँस्ने गरिन्छ ।

नाग पञ्चमीको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक मान्यता रहेको छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको बताइन्छ ।

पञ्चमीको दिन बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिएको छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिले नाग जातिको पूजाआजा गर्ने परम्परा बसालेको जनविश्वास छ ।

सम्बन्धित
Loading...