काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ ।
आईतबार भएको ६ बुँदे सहमतिसँगै संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ भने अबदेखि अस्पतालका सबै सेवा खुल्ने भएका छन् ।
हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनअनुसार कारबाही गर्ने सहमति भएको छ । सहमतिमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अन्य छ जनालाई ऐनअनुसार कारबाही गर्ने उल्लेख गरिएको छ ।
ऐन कार्यान्वयनका लागि सरकारका सबै निकाय प्रतिबद्ध हुने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य मन्त्रालयले सक्रिय बनाउने र मासिक रूपमा बैठक बस्ने तथा डाक्टरको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने क्रम कम गर्ने लगायतका काम गर्ने गरी तीन महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने सहमति भएको जनाइएको छ ।
संघले आईतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गराएपछि स्वास्थ्य मन्त्रालयले वार्ता टोली बनाएको थियो ।
हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षका राजेश प्रधानको उपचारको क्रममा ज्यान गएको भन्दै आफन्तले डा. विकास थापा र प्रशान्त बिराडीमाथि कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न ४ जनालाई पक्राउ गरे पनि अन्यलाई पक्राउ गर्न सकेको छैन ।