काठमाडौं । हेटौंडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले आज आईतबार देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गरिएको संघले जनाएको छ ।
गत २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएपछि संघले विरोध गर्दै आएको छ ।
कुटपिट गर्नेलाई कानूनी दायरामा ल्याउन माग गर्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । संघले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारबाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।
संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेर अनुसन्धान थालिसकेको छ । दोषी सबैलाई पक्राउ नगरिएको संघको आरोप छ ।
दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले बताए । देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई समस्या भएको छ ।