आज अटवारी पर्व मनाइँदै, सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

धनगढी । थारु समुदायले आज आईतबार अटवारी पर्व मनाउँदैछन् ।

पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व मनाइँदैछ । अटवारीमा दाजुभाइहरूले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ ।

आईतबार दिनभर व्रत बसेर फलफूल र रोटीका परिकारहरू बनाई भोलि सोमबार बिहान ७, ९, ११, १३ किसिमका बिजोडी संख्यामा तरकारी लगायतका खानेकुरा पकाएर दिदीबहिनीलाई कोसेली पुर्‍याउने चलन छ ।

दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले अटवारीमा खल्लो महसूस गरेको बताइन्छ भने कतिपयले अरुलाई दाजुभाइ–दिदीबहिनी मान्ने गरेका छन् ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा डगौरा–चौधरी समुदायमा धुमधामका साथ मनाउने गरिन्छ ।

आईतबारको दिन ‘अटवारी’ भए पनि सोमबारसम्म मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट अटवारी पर्व शुरू हुन्छ ।

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने थारु समुदायका व्यक्ति अटवारी पर्वपछि कामको बोझ हटेर फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने चलन रहेको छ ।

व्रत बसेर साँझ पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ भनिन्छ । अग्रासन छोरीबहिनीको घरमै पुर्‍याइन्छ ।

अग्रासन दिइसकेपछि पर्वको समापन भएको मानिन्छ । महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशीयाली र स्मरणमा उनकै पूजा गरी अटवारी पर्व मनाउने प्रचलन रहेको बताइन्छ ।

अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Loading...