महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका बेला गैंडाको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ ।
बेलडाँडी गाउँपालिका–२ की ४२ वर्षीया बेलमती बुढाको गैंडाको आक्रमणबाट आज शुक्रवार बिहान मृत्यु भएको स्थानीयले जनाएका छन् ।
बुढासँगै गएका अन्य २ महिलाले भागेर ज्यान जोगाएका छन् । वन्यजन्तुको आक्रमणबाट महिलाको मृत्यु भएपछि संरक्षणको क्षेत्रमा क्रियाशील संरक्षणकर्मीले चासो व्यक्त गरेका छन् ।
सामुदायिक वन समन्वय समिति वाणीका अध्यक्ष तथा निवर्तमान प्रदेशसभा सदस्य महेशदत्त जोशीले मानव–वन्यजन्तु द्वन्द्व न्युनीकरणमा प्रभावकारी काम हुनुपर्ने बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ दुःखद घटना ! कञ्चनपुरमा फेरि मानव–वन्यजन्तु द्वन्द्व बढ्दो छ । समाधानका उपायबारे छलफल होस्, सबै सरोकारवालाहरूमा अपिल छ । साथै पीडित परिवारलाई क्षतिपूर्ति अबिलम्ब उपलब्ध गराइयोस् । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि, परिवारजनमा गहिरो समवेदना छ ।’