वन हेरालुमाथि हँसियाले आक्रमण घटनाको चौतर्फी विरोध, कसरी भयो घटना ?

महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकको दिपेन्द्र स्मृति सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु नन्दसिंह भण्डारीमाथि भएको सांघातिक आक्रमणको चौतर्फी विरोध भएको छ ।

सामुदायिक वनमा चोरी नियन्त्रणका क्रममा वन हेरालु भण्डारीमाथि कृष्णपुर नगरपालिका–१ निगालीकी धना बोहराले आक्रमण गरेको समूहका अध्यक्ष देवसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार घाँस चोर्न ३ जना गएकोमा २ जना हँसिया फालेर भागेका र बोहराले आक्रमण गरेका हुन् ।

घाँस चोरेर लैजाने क्रममा वन हेरालुले हँसिया नियन्त्रणमा लिन खोज्दा सोही हँसियाले आक्रमण गरिएको थियो । वन हेरालुको हातको नशा काटिएको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । वाणीस्थित अस्पतालमा उपचार हुन नसकी धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको अध्यक्ष भण्डारीले बताए । ‘उपचारमा समूहका साथीहरू खटिएका छन्, उपचार खर्च पनि अहिले समूहबाटै गरिरहेका छौं,’ अध्यक्ष भण्डारीले भने ।

दोषीमाथि कारवाहीका लागि समूहको कार्यसमिति बैठकले निर्णय गरेर ईलाका प्रहरी कार्यालय झलारीमा पत्राचार गरिसकेको उनले बताए । ‘कार्यसमितिको बैठक बसेर समितिको तर्फबाट ज्यान मार्ने उद्योगमा कारवाही गर्न पत्राचार गरिएको छ,’ उनले भने ।

घटनापछि सामुदायिक वनसँग सम्बन्धित विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।

सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान प्रदेशसभा सदस्य महेशदत्त जोशीले वन हेरालुमाथि चोरी गतिविधि गर्ने समूहबाट भयको कुटपिट निन्दनीय रहेको जनाउँदै दोषीउपर कानूनी कारवाहीको माग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) कञ्चनपुरकी अध्यक्ष लक्ष्मी साउँदले वन हेरालुमाथि चोरी तस्करी गतिविधि गर्ने आपराधिक समूहबाट भएको अराजक र निन्दनीय घटनाको घोर भर्त्सना गर्दै दोषीउपर यथाशीघ्र कडाभन्दा कडा कानूनी कारवाहीको माग गरेकी छन् ।

फेकोफन कञ्चनपुरका सदस्य राजुराम सार्कीले दोषीउपर यथाशीघ्र आवश्यक छानबिन गरी कडाभन्दा कडा कानूनी कारवाहीका लागि माग गरेका छन् ।

Loading...