ललिता निवास जग्गा प्रकरण : १७ जना धरौटीमा रिहा

काठमाडौं । बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले पक्राउ गरेका १७ जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आईतबार भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले थुनामा रहेका १८ जनामध्ये १ जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जना धरौटीमा रिहा गरिएका छन् ।

अदालतले गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ भने केशव तुलाधर साधारण तारेखमा रिहा भएका छन् ।

अदालतले शिवजी भट्टसँग ३ लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग १५ लाख, घमनकुमार कार्कीसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग ७ लाख ५०, ध्रुवप्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लाख १० हजार, देवनारायण महर्जनसँग १ लाख १०, सकलानन्द महर्जनसँग १ लाख १० हजार, सञ्जयकुमार महर्जनसँग १ लाख १० हजार, लोकरी घिमिरेसँग ७ लाख ५० हजार धरौटी मागिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि छानबिन नभएको भन्दै सरकारको आलोचना हुने गरेको छ ।

Loading...