लकडाउन खुल्यो भनेर काठमाडौं फर्किंदै हुनुहुन्छ ? सावधान !

काठमाडौं । गत सोमबारको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गरेको खबर सुनेर तपाईं काठमाडौं फर्किंने तयारी गर्दै हुनुहुन्छ भने सावधान ! सरकारले लकडाउन अन्त्य भनेपनि काठमाडौं प्रवेशमा सहजता छैन ।

सवारीसाधन हुने व्यक्तिहरू राजधानी काठमाडौं उपत्यका फर्किन खोजेपनि विभिन्न नाकामा प्रहरीले रोकिरहेको छ । काठमाडौं प्रवेश गर्ने पास विना प्रहरीले राजधानी छिर्न दिइरहेको छैन ।

सरकारले जिल्लाभित्र सवारीसाधन चलाउन पाइने भनेपनि अर्काे जिल्ला प्रवेश गर्न पास चाहिने प्रावधान देखाउँदै प्रहरीले नागढुंगा नाकामा पास विनाका सवारीसाधन प्रवेश गर्न दिएको छैन । लकडाउन खुलेपछि काठमाडौं प्रवेश गर्ने नाकामा सवारीसाधनको चाप बढेसँगै प्रहरीले कडाइ गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सीमा जोडिएका जिल्लामा यातायात चलाउन पाइने गरेर निर्णय गरेको भए पनि उपत्यका काठमाडौं प्रवेशको हकमा लागू नहुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताउनुभयो ।

‘उपत्यका प्रवेश गर्ने नाकाहरूमा लकडाउन भएकै बेला जस्तो चेकजाँचलाई कडाइ गरिएको छ,’ उहाँले भन्नुभयो, ‘अहिले पनि उपत्यका प्रवेशका लागि सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा मात्रै उपत्यका प्रवेश गर्न दिइएको छ ।’

मन्त्रिपरिषद् निर्णयअनुसार यातायात व्यवसायीले यातायात सञ्चालन गरिसकेका छन् । लामो दूरीको यातायात आगामी भदौ १ गतेदेखि सञ्चालन हुने निर्णय सरकारले गरेको छ ।

Loading...