दोगडाकेदारमा लोकप्रिय निर्णय : गौराको बिदा, निःशुल्क एम्बुलेन्सदेखि सबै विद्यालयमा एकै रंग

धनगढी । बैतडीको दोगडाकेदार गाउँ कार्यपालिकाको बैठकले लोकप्रिय निर्णयहरू गरेको छ ।

सोमबार बसेको कार्यपालिका बैठकले गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते स्थानीय बिदा दिने निर्णय गरेको प्रवक्ता दिनेश भट्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले भने भदौ ७ गतेको गौरालाई मान्यता दिएर २ दिन बिदा दिएको थियो । भदौ २१ गते गौरा मनाउनेलाई लक्षित गरेर स्थानीय सरकारले बिदा दिइरहेका छन् ।

कार्यपालिका बैठकले ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालन गर्दा सुत्केरी महिला, अपाङ्गता, अशक्त, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई निःशुल्क सेवा दिने निर्णय गरेको छ ।

बैठकले मावि तहका सबै विद्यालयमा एउटै रंग लगाउने निर्णय गरेको प्रवक्ता भट्टले बताए ।

‘एसईईमा ३ जीपीएभन्दा माथि प्राप्तांक ल्याउने पालिका भित्रका सम्पूर्ण विद्यार्थीहरूलाई जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

Loading...