इटहरीमा असोज १९ र २० गते विराट सत्संग समारोह हुने

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले ‘विराट सत्संग समारोह–२०८०’ आयोजना गर्ने भएको छ ।

समितिले असोज १९ र २० गतेसम्म २ दिवसीय विराट सत्संग समारोह आयोजना गर्ने भएको हो । समारोह सुनसरीको इटहरीमा आयोजना हुनेछ ।

मानव–मानव बिचको प्रेम, सद्भाव, सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’को महान् प्रेरणा जागृत गराउने उद्देश्य राखी समारोह आयोजना हुन लागेको समितिले जनाएको छ ।

‘विराट सत्संग समारोह–२०८०’लाई सम्बोधन गर्न श्री सतपालजी महाराजको दिव्य आगमन हुने जनाइएको छ । देश–विदेशबाट लाखौंको संख्यामा भक्तजनहरू आउने समितिले जनाएको छ ।

समारोहमा आत्मानुभवी विद्वान सन्त महात्माहरूद्वारा सत्संग प्रवचन एवं विभिन्न ख्याति प्राप्त कलाकारहरूबाट भक्ति संगीत एवं सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुती रहने समितिले जनाएको छ ।

समितिले विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजी गर्न चाहनेका लागि समारोह एक कोशेढुंगा साबित हुने बताएको छ । विराट सत्संग समारोहमा सपरिवार सहभागी भई भरपुर लाभ तथा पुण्य आर्जन गर्न सबैलाई समितिले निमन्त्रणा गरेको छ ।

समारोह इटहरीको डीभीएम स्कूल प्राङ्गणमा अपराह्न ४ देखि ८ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन इच्छा राख्नेले ९८४२६२१४९४, ९८४२८५४२२८, ९८४१४६२५२५ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘विज्ञान र प्रविधिको उपलब्धि र उपयोगबाट संसारका मानिसले भौतिक सुखलाई प्राप्त गरे पनि त्यसले अनन्त शान्ति र आनन्द प्रदान गर्न सकेको छैन । त्यही आत्मिक शान्ति र आनन्दको अभावमा आजको मानिस आक्रान्त, भयभीत र अधुरो हुन बाध्य छ । विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने, मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजीमा रहनेका लागि समारोह गन्तव्यस्थल बन्नेछ ।’

Loading...